राष्ट्रिय सभा सदस्यको निर्वाचनमा चार प्रमुख दलबीच चुनावी तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल संयुक्त रूपमा निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् ।
महन्थ ठाकुर नेतृत्वको दलसमेत एकीकृत भइसकेकाले जसपा नेपाल पनि गठबन्धनको औपचारिक हिस्सा बनेको छ । यससँगै राष्ट्रिय सभामा प्रभावशाली चारै दलले तालमेल गरेर चुनाव लड्ने तयारी गरेका छन् ।
चारै दलका शीर्ष नेतृत्वले चुनावी तालमेल र उम्मेदवार चयनको अन्तिम निर्णय आफ्नै तहबाट गर्ने जिम्मेवारी लिएका छन् । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले औपचारिक निर्णयमार्फत तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरिसकेका छन् ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले हरेक प्रदेशबाट एक–एक सिट गरी एमालेले सात सिट माग गरेको जानकारी दिए । उनका अनुसार कांग्रेससँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
त्यसैगरी, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि अन्य दलसँग तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले गठबन्धनमार्फत निर्वाचन लड्ने निर्णय गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टीको मंगलबारको परामर्श बैठकले मतभारका आधारमा सिट भागबण्डा हुनुपर्ने निष्कर्ष निकाल्दै कांग्रेस र एमालेसँग तालमेल गरेर जाने निर्णय गरेको छ । बैठकपछि नेता प्रकाश ज्वालाले सम्मानजनक सहमति भए कांग्रेस र एमालेसँग मिलेर जाने र मतभारका आधारमा सिट संख्या टुंगो लगाउने सहमति भएको बताए । यसबारे थप निर्णय गर्ने जिम्मा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिइएको छ ।
मधेश प्रदेशको तेस्रो ठूलो दल जसपा नेपाल पनि गठबन्धन प्रयासमा सक्रिय छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अन्तरपार्टी छलफलमा जुटेका छन् । उनका अनुसार छलफल जारी छ ।
यसअनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभाका रिक्त सिटको भागबण्डा टुंग्याउनेछन् । चारै दलले १८ सिटका लागि भागबण्डा गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय सभामा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ रहने व्यवस्था छ । सातै प्रदेशको कुल मतभारका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसको मतभार २१ हजारभन्दा बढी, एमालेको १७ हजारभन्दा बढी र नेपाली कम्युनिस्ट पार्टीको १२ हजारभन्दा बढी छ । यही आधारमा सिट बाँडफाँटको गृहकार्य भइरहेको छ ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सदस्य हुनेछन् भने बाँकी १८ सिटका लागि निर्वाचन हुँदैछ । प्रारम्भिक छलफलमा कांग्रेसले ८, एमालेले ६ र नेपाली कम्युनिस्ट पार्टीले ४ सिट लिने प्रस्ताव भए पनि मधेश प्रदेशमा प्रभावशाली जसपा नेपाललाई समेट्न भागबण्डामा समायोजनको प्रयास भइरहेको छ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । उम्मेदवारको मनोनयन दर्ता भोलिका लागि तोकिएकाले शीर्ष नेताहरू मनोनयनअघि नै भागबण्डा टुंग्याउने प्रयासमा जुटेका छन् ।
यसैबीच, राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले प्रमुख दलहरूबीचको तालमेललाई जेन–जी आन्दोलनपछि पुराना दलहरूमा देखिएको भय र असुरक्षाको संकेतका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार राष्ट्रिय सभालाई सन्तुलनकारी र बौद्धिक भूमिकामा प्रयोग गर्नुपर्ने भए पनि दलहरूले योग्य र परिपक्व उम्मेदवार चयनभन्दा सिट भागबण्डामै ध्यान केन्द्रित गरेको अवसर गुमाएका छन् ।
