अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय सशस्त्र समूह हमासले हतियार बुझाएर शासनबाट बाहिरिन सहमति जनाएको दाबी गर्नुभएको छ। तर हमासले भने निःशस्त्रीकरण कुनै अन्तिम सहमति नभएको स्पष्ट गर्दै त्यसका लागि इसराइलले पहिले आफ्ना सैन्य कारबाही रोक्नुपर्ने र गजाबाट सेना फिर्ता गर्नुपर्ने सर्त अघि सारेको छ।
राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत हमास तथा गजामा रहेका अन्य सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि “ऐतिहासिक सहमति” भएको दाबी गर्नुभएको हो।
उहाँले निःशस्त्रीकरण प्रक्रिया पूरा भएपछि गजामा नयाँ प्यालेस्टिनी प्रशासनले शासन सञ्चालन गर्ने तथा इसराइलले आवश्यक सुरक्षा सुनिश्चित गर्ने उल्लेख गर्नुभएको छ।
अमेरिकी समाचार संस्था Axios का अनुसार कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा महिनौँदेखि जारी वार्तापछि हमासले प्रारम्भिक रूपमा केही सर्त स्वीकार गरेको बताइएको छ। प्रस्तावअनुसार हमास गजाको प्रशासनबाट बाहिरिने र नेशनल कमिटी फर द एडमिनिस्ट्रेसन अफ गजा (NCAG) नामक प्राविधिक निकायले प्रशासन सञ्चालन गर्ने व्यवस्था रहनेछ।
सम्झौताअनुसार हमासको निःशस्त्रीकरण प्रक्रिया करिब नौ महिनासम्म चल्न सक्ने अनुमान गरिएको छ। यस अवधिमा हमासले आफ्ना लडाकू तथा सैन्य सामग्री चरणबद्ध रूपमा हस्तान्तरण गर्ने, भूमिगत सुरुङ र हतियार उत्पादन केन्द्र बन्द गर्ने तथा सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय अनुगमनमा सञ्चालन गर्ने प्रस्ताव रहेको जनाइएको छ।
यससँगै इसराइली सेना पनि चरणबद्ध रूपमा गजाबाट फिर्ता हुने तथा अन्तर्राष्ट्रिय स्थिरीकरण बलले नयाँ प्यालेस्टिनी प्रशासनलाई सुरक्षा व्यवस्थापन र प्रहरी तालिममा सहयोग गर्ने योजना रहेको Axios ले उल्लेख गरेको छ।
तर कतारी सञ्चारमाध्यम अल जजिरा ले भने हमासले तत्काल हतियार बुझाउने सहमति नगरेको जनाएको छ। हमासका अनुसार इसराइली सेना पूर्ण रूपमा गजाबाट नहटेसम्म, आक्रमण बन्द नगरेसम्म र मानवीय सहायता निर्बाध रूपमा प्रवेश गर्न नदिएसम्म निःशस्त्रीकरण सम्भव छैन।
हमासका वार्ता टोलीका सदस्य गाजी हमादले वार्ता सकारात्मक दिशामा अघि बढे पनि हतियार बुझाउने अन्तिम सहमति नभएको स्पष्ट पार्नुभएको छ।
उहाँले, “हामीले पूर्ण निःशस्त्रीकरण वा हतियार हस्तान्तरणमा सहमति गरेका छैनौँ। गजाको प्रशासनिक व्यवस्थापनका विषयमा मात्रै छलफल भइरहेको छ,” भन्नुभएको अल जजिराले जनाएको छ।
यसैबीच, प्यालेस्टिनियन इस्लामिक जिहादले पनि सार्वजनिक भइरहेका विवरणप्रति असन्तुष्टि जनाउँदै अन्तिम सहमति अझै नभएको दाबी गरेको छ।
उता इसराइली सरकारले भने ट्रम्पको दाबी वा सम्भावित सम्झौताबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
यसरी अमेरिकी राष्ट्रपति ट्रम्पले ऐतिहासिक सहमतिको दाबी गरे पनि हमास, अन्य प्यालेस्टिनी समूह र इसराइलको आधिकारिक धारणा अझै फरक–फरक रहेकाले गाजामा दीर्घकालीन शान्ति स्थापनाको प्रयास तत्काल निष्कर्षमा पुग्ने अवस्था भने देखिएको छैन।
