काठमाडौं। पाकिस्तानको कराकोरम पर्वतशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) आरोहणका क्रममा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना अन्तर्राष्ट्रिय पर्वतारोही सम्पर्कविहीन भएका छन्।

पाकिस्तानी सञ्चारमाध्यम, बीबीसी र सिएनएनका अनुसार बिहीबार दिउँसो हिमपहिरो आएपछि पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोही टोलीसँग सम्पर्क विच्छेद भएको हो। टोलीमा नेपाल, पाकिस्तान, अमेरिका, चीन र ओमानका पर्वतारोही सहभागी रहेका छन्।

प्रारम्भिक विवरणअनुसार टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अन्य सदस्य रहेका छन्। हिमपहिरोपछि टोलीका सबै सदस्यसँग सम्पर्क टुटेको बताइएको छ।

अल्पाइन क्लब अफ पाकिस्तान ले जारी गरेको विज्ञप्तिमा सम्पर्कविहीन आरोहीहरूको खोज तथा उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित सबै उपलब्ध उद्धार स्रोत परिचालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ।

क्लबका उपाध्यक्ष करार हैद्री ले बीबीसीसँग कुरा गर्दै मौसमले साथ दिए शुक्रबार बिहानै हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

अल्पाइन क्लबले सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता पनि व्यक्त गरेको छ।

ब्रोड पिक कठिन आरोहणका लागि परिचित हिमालमध्ये एक मानिन्छ। हाल प्रतिकूल मौसमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको भए पनि मौसममा सुधार आउनेबित्तिकै खोज तथा उद्धार कार्यलाई तीव्र बनाइने अधिकारीहरूले बताएका छन्।

४२ वर्षीय नेपाली मूलका निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना केही दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। बेलायती सेनाका पूर्व सदस्यसमेत रहेका पुर्जा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा साहसिक आरोहणका लागि परिचित छन्।

समाचार तयार पार्दासम्म सम्पर्कविहीन टोलीको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन भने उद्धार अभियानको थप विवरणको प्रतीक्षा भइरहेको छ।