इन्डोनेसियाको पूर्वी जाभास्थित ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले पर्यटक प्रवेशमा रोक लगाएका छन्।

माउन्ट ब्रोमो आसपासको क्षेत्रमा सोमबारदेखि लागेको डढेलोले हालसम्म करिब १७६ हेक्टर क्षेत्रफल प्रभावित भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीले जनाएको छ। एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार आगलागीबाट हालसम्म मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन।

आगो नियन्त्रणका लागि दुई वटा पानी बम प्रहार गर्ने हेलिकप्टर परिचालन गरिएको छ। भिरालो भूभाग र तीव्र हावाका कारण स्थलमार्गबाट पुग्न कठिन क्षेत्रमा हवाई माध्यमबाट अग्नि नियन्त्रण अभियान सञ्चालन गरिएको प्रवक्ता मुहारीले बताएका छन्।

यसअघि सन् २०२३ मा पनि माउन्ट ब्रोमो क्षेत्रमा ठूलो डढेलो लागेको थियो। उक्त घटनामा ५०० हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको थियो। विवाहपूर्वको तस्बिर खिच्ने क्रममा एक जोडीले आगो बाल्दा उक्त डढेलो फैलिएको बताइएको थियो।

यस वर्ष इन्डोनेसियामा सुख्खा मौसम अझ तीव्र र लामो हुने अनुमान गरिएको छ। मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार एल निनो मौसमी घटनाका कारण देशमा डढेलो र खडेरीको जोखिम बढ्न सक्नेछ।

यस वर्षको पहिलो छ महिनामै इन्डोनेसियामा एक लाख सात हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भइसकेको बताइएको छ। यो सन् २०२३ को सोही अवधिमा प्रभावित भएको क्षेत्रफलभन्दा करिब दोब्बर हो।