नेपाल सरकारले प्रत्येक वर्षको भदौ २३ गतेलाई ‘जेन–जी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।
जेन–जी प्रदर्शनमा मृत्यु भएकाका परिवारलाई परिचयपत्र
मन्त्री खरेलका अनुसार गत भदौ २३ र २४ गते ‘जेन–जी’ प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि भएको छ। यस सम्बन्धी जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ।
नगद कारोबारमा सीमास् पाँच लाखदेखि माथि बैंकिङ प्रणाली अनिवार्य
मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्य पर्ने कुनै पनि सेवा वा वस्तुको खरिद–विक्री तथा कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत मात्र गर्नुपर्नेछ।
सरकारका प्रवक्ताले यसको उद्देश्य वित्तीय पारदर्शिता बढाउनु र अवैध कारोबार नियन्त्रण गर्नु रहेको बताए।
श्रीलंकालाई २ लाख अमेरिकी डलर सहायता
श्रीलंकामा हालसालै आएको भीषण वर्षा, बाढी र पहिरोबाट भएको ठूलो धनजन क्षतिपछि नेपाल सरकारले २ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
जेन–जी शहीद दिवस मनाइने
बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सम्मानस्वरूप हरेक वर्ष भदौ २३ लाई ‘जेन–जी शहीद दिवस’ का रूपमा मनाइने घोषणा गरेको छ। यसमार्फत इतिहासमा सूक्ष्म दस्तावेजीकरण, शहीद परिवारको सम्मान तथा भावी पुस्तालाई जन–आन्दोलनको मूल्यबोध गराउनु उद्देश्य रहेको मन्त्री खरेलले बताए।
सरकारले उक्त निर्णयहरू तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
