कामाण्डौं ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) अन्तर्गत पहिलोपटक आयोजना हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले आगामी मंसिर १९ देखि पुष ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुने जानकारी गराएको हो।
दक्षिण एशियाली महिला फुटबलको स्तर उकास्ने उद्देश्यसहित सुरु हुन लागेको प्रतियोगितामा पाँच देशका क्लबको सहभागिता रहनेछ। सहभागी क्लबहरूमा एपिएफ क्लब (नेपाल), इस्ट बंगाल एफसी (भारत), नासरिन स्पोर्ट्स एकेडेमी (बंगलादेश), ट्रान्सपोर्ट यूनाइटेड (भुटान), कराची सिटी एफसी (पाकिस्तान) रहेको छ ।

प्रतियोगिता सिंगल राउन्ड–रोबिन प्रारूपमा सञ्चालन हुनेछ। लिगबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीबीच उपाधि निर्धारण खेल आयोजना गरिने एन्फाले जनाएको छ।

पुरस्कार राशि

उपाधि विजेताले १० हजार अमेरिकी डलर, उपविजेताले ५ हजार डलर, र अन्य तीन टोलीले २ हजार डलर पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको टिकट दर

साधारण प्यारापिटस् रु ३००

भिआइपी प्यारापिटस् रु ५००

मार्केटिङ तथा प्रसारण अधिकार

एन्फाका महासचिव किरण राईका अनुसार प्रतियोगिताका मार्केटिङ, प्रसारण तथा डिजिटल अधिकार ५१ लाख ५० हजार रुपैयाँमा सुश्री मिडिया प्रालीलाइ बिक्री गरिएको छ। सो रकममध्ये ७० प्रतिशत हिस्सा एन्फालाई प्रदान गरिने र बाँकी ३० प्रतिशत पुरस्कार वितरणमा खर्च गरिने राईले बताए। प्रतियोगिताको अन्य लागत साफले वहन गर्नेछ।

एन्फाका अनुसार प्रतियोगिताका सहभागी टोलीहरू बुधबार नेपाल आइपुग्नेछन् र उनीहरूले च्यासल रंगशाला तथा भद्रकालीस्थित नेपाली सेनाको खेलमैदानमा अभ्यास गर्ने कार्यक्रम छ।