न्युजिल्याण्ड सरकारले आगामी बजेटमार्फत विद्यार्थीहरूको शैक्षिक सुधारका लागि १३१ मिलियन डलर खर्च गर्ने घोषणा गरेको छ । यो रकम विद्यार्थीहरुको पढाइसंगै लेखाइ र गणित विषयमा देखिएको कम्जोरीमा सुधारमा खर्च गरिने छ ।
शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले सोमवार लोअर हटस्थित बौलकाट विद्यालयमा प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग संयुक्त रूपमा उक्त घोषणा गरेकी हुन३ । ।

सरकारले प्राथमिक तथा निम्न माध्यमिक तहको शिक्षा सुधारअन्तर्गत थप १२ वटा नयाँ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ती कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक उपलब्धि वृद्धि गर्नुका साथै शैक्षिक असमानता घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

शिक्षामन्त्री स्ट्यानफोर्डका अनुसार विद्यार्थीहरूले थप शैक्षिक सामग्री, अतिरिक्त ट्युटरिङ सहयोग, हस्तक्षेप शिक्षकसँग बढी समय तथा गणित, पढाइ र लेखाइ प्रभावकारी ढंगले सिकाउन सक्ने शिक्षकको साथ पाउनेछन् ।

नयाँ गणित कार्यक्रमअन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि ‘माथ्स हब’ स्थापना गरिने, वर्ष ० देखि ८ सम्मका कक्षाका लागि व्यवहारिक गणित सामग्री तथा खेल उपलब्ध गराइने, थप ३६ जना गणित हस्तक्षेप शिक्षक नियुक्त गरिने तथा कक्षा ५ मा गुणन र भाग सम्बन्धी नयाँ परीक्षण सञ्चालन गरिनेछ ।

त्यस्तै साक्षरता कार्यक्रमअन्तर्गत कक्षा ४ र ५ का लागि नयाँ लेखन अभ्यास पुस्तिका, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि डिजिटल लेखन उपकरण, कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि नयाँ “डिकोडेबल” पुस्तक उपलब्ध गराइनेछ । साथै सिकाइमा समस्या भएका विद्यार्थीका लागि १२ हप्ते संरचित साक्षरता कार्यक्रम लागू गरिने सरकारको योजना छ ।

सरकारले पढाइ, बुझाइ, लेखाइ, हिज्जे र सामान्य विरामचिन्हसम्बन्धी परीक्षण समेटेर कक्षा २ का लागि नयाँ साक्षरता परीक्षण पनि सुरु गर्ने भएको छ । यसअघि कक्षा २ मा गणित परीक्षण मात्र सञ्चालन हुँदै आएको थियो ।

शिक्षकहरूलाई साक्षरता शिक्षण सुधार गर्न मार्गदर्शन, भिडियो तथा अन्य शैक्षिक सामग्री पनि उपलब्ध गराइनेछ । साथै “मेक इट काउन्ट” गणित योजना र “राइट इट राइट” लेखन योजनासँगै “रिड टु सक्सिड” नामक नयाँ पठन अभियान सुरु गरिने भएको छ ।

शिक्षामन्त्री स्ट्यानफोर्डले विद्यालयहरूसँगको परामर्शपछि यी कार्यक्रम ल्याइएको बताउँदै कुनै पनि सामग्री अनिवार्य नभए पनि निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो ।

सरकारले सन् २०३० सम्म कक्षा ८ का ८० प्रतिशत विद्यार्थीलाई उमेरअनुसारको पाठ्यक्रम स्तरमा पढाइ, लेखाइ र गणितमा दक्ष बनाउने लक्ष्य लिएको छ ।

उहाँका अनुसार अभिभावकहरूले आफ्ना बालबालिकाको शैक्षिक प्रगतिबारे प्रत्येक चरणमा थप जानकारी पाउनेछन् भने विद्यार्थीहरू उच्च माध्यमिक शिक्षाका लागि अझ राम्रो तयारीका साथ अघि बढ्नेछन् ।

शिक्षामन्त्री स्ट्यानफोर्डले गत वर्ष लागू गरिएको नयाँ गणित तथा साक्षरता पाठ्यक्रमले सकारात्मक संकेत देखाउन थालेको दाबी गर्नुभयो ।

सोमवार सार्वजनिक गरिएको नयाँ तथ्यांकअनुसार सन् २०२४ देखि २०२५ बीच कक्षा ६ का विद्यार्थीहरूको लेखाइमा ५ प्रतिशत र गणितमा ६ प्रतिशत सुधार देखिएको उहाँले बताउनुभयो ।

उहाँले उक्त सुधारको श्रेय शिक्षकहरूलाई दिँदै शिक्षा क्षेत्रमा दीर्घकालीन रूपमा देखिएको गिरावट रोक्न यी सुधार कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।