भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाईमा न्युजिल्याण्ड भ्रमण गर्ने भएका छन् । उहाँको भ्रमणको तयारी दुवै देशका अधिकारीहरूले गरिरहेका छन् । प्रधानमन्त्री मोदीको भ्रमण आगामी जुलाई महिनामा हुनसक्ने संकेत सार्वजनिक भएसँगै कूटनीतिक तथा व्यापारिक क्षेत्रमा चासो समेत बढेको छ ।

भ्रमण तय भएमा यो मोदीको न्युजिल्याण्डको पहिलो औपचारिक भ्रमण हुनेछ । यसअघि नै न्युजिल्याण्ड र भारत दुवै सरकारले भ्रमणको तयारी भइरहेको संकेतसहितका समाचार प्रकाशन भएका थिए । मोदीको सम्भावित भ्रमणलाई न्युजिल्याण्ड–भारत सम्बन्धको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । विशेषगरी हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौतापछि दुवै देशबीचको सम्बन्ध अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।

गत महिना न्युजिल्याण्ड र भारतबीच सम्पन्न व्यापार सम्झौताअनुसार न्युजिल्याण्डका करिब ९५ प्रतिशत निर्यात वस्तुमा लाग्ने भन्सार शुल्क हटाइने वा उल्लेखनीय रूपमा घटाइनेछ । यसबाट भेडाको मासु, ऊन, वनसम्बन्धी उत्पादन तथा समुद्री खाद्य पदार्थ निर्यातमा ठूलो लाभ पुग्ने विश्वास गरिएको छ । सम्झौताअनुसार आधाभन्दा बढी न्युजिल्याण्डी निर्यात सुरुवाती दिनदेखि नै शुल्कमुक्त हुनेछन् भने आगामी वर्षहरूमा यो दायरा ८० प्रतिशतभन्दा माथि पुग्नेछ ।

विश्लेषकहरूका अनुसार भारतले लामो समयदेखि उच्च भन्सार शुल्क कायम राखेकाले न्युजिल्याण्डका उत्पादनले भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका थिए । नयाँ सम्झौताले भने भारतीय बजारलाई न्युजिल्याण्डका व्यवसायका लागि थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, दुग्धजन्य उत्पादनको विषय भने व्यापार वार्तामा चुनौतीपूर्ण बनेको थियो । भारतीय पक्षले दुग्ध क्षेत्रलाई सम्झौतामा समावेश गर्ने विषयमा असन्तुष्टि जनाउँदै वार्ताबाट बाहिरिने चेतावनीसमेत दिएको खुलासा भएको थियो । मोदीको सम्भावित भ्रमणले व्यापार, लगानी, शिक्षा, पर्यटन तथा आपसी कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, न्युजिल्याण्डमा बसोबास गर्ने ठूलो भारतीय समुदायका लागि समेत यो भ्रमण विशेष महत्वको हुने बताइएको छ