विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ।

विदेशमा रहेका नेपालीलाई आफ्नो मातृभूमिसँग अझ नजिकबाट जोड्ने उद्देश्यले विभाग स्थापना गरिएको बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार यो पहलले विदेशमा रहेका नेपालीको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँगको सम्बन्धलाई थप मजबुत बनाउनेछ।

मुलुकमै पहिलोपटक सञ्चालनमा ल्याइएको यस विभागमार्फत बैंकले विश्वभर रहेका आफ्ना ग्राहकलाई एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउने जनाएको छ। विदेशमा रहेका नेपालीले यस विभागमार्फत बैंक खाता खोल्ने, कर्जा लिने, कारोबार गर्ने, पूँजीबजारसम्बन्धी सेवा प्राप्त गर्ने तथा पोर्टफोलियो व्यवस्थापन जस्ता सुविधा उपयोग गर्न सक्नेछन्।

यी सेवाहरू ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा नक्सालस्थित विभागीय कार्यालयमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ। विदेशमा रहेका नेपालीको सेवामा सहजीकरण गर्न बैंकले सहायता कक्षसमेत स्थापना गरेको छ, जुन चौबीसै घण्टा सञ्चालनमा रहनेछ।

बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको शुभारम्भ गरेका हुन्।