न्युजिल्यान्डमा प्लम्बर, ग्यासफिटर र ड्रेनेयरको अभाव गम्भीर बन्दै गएको छ। नयाँ प्रशिक्षार्थीभर्ना गर्ने व्यवसायको संख्या न्यून रहँदा अनुभवी तथा दक्ष जनशक्ति रोजगारीका लागि अस्ट्रेलिया जान थालेपछि आगामी वर्ष श्रम अभाव अझ बढ्ने अनुमान गरिएको छ।
Infometricsको प्रक्षेपणअनुसार आगामी एक वर्षमा न्युजिल्यान्डमा प्लम्बिङ, ग्यासफिटिङ र ड्रेनेज क्षेत्रमा करिब १,४५० जनशक्ति आवश्यक पर्नेछ। कार्यरत जनशक्ति उमेरका कारण अवकाशमा जाने, विदेश पलायन हुने तथा निर्माण गतिविधि बढ्ने भएकाले थप जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको हो।
तर, लामो समयको आर्थिक मन्दीका कारण नयाँ जनशक्ति तयार गर्ने प्रक्रिया कमजोर बनेको उद्योग क्षेत्रले जनाएको छ। Master Plumbersका अनुसार प्लम्बिङ क्षेत्रमा १७ प्रतिशत व्यवसायले मात्रै नयाँ प्रशिक्षार्थी भर्ना गर्ने गरेका छन्। निर्माण क्षेत्रमा भने यस्तो अनुपात १० देखि १५ प्रतिशत मात्र रहेको बताइएको छ।
Master Plumbersका प्रमुख कार्यकारी ग्रेग वालेसले यही नै वर्तमान जनशक्ति अभावको मुख्य कारण भएको बताएका छन्। आर्थिक अवस्था कमजोर हुँदा नयाँ प्रशिक्षार्थी राख्ने अवसरसमेत घटेको उनको भनाइ छ।
यस वर्ष नयाँ अप्रेन्टिसको संख्या सन् २०२५ को तुलनामा २७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष पनि नयाँ प्रशिक्षार्थीको संख्या करिब आधाले घटेको थियो।
वालेसका अनुसार अप्रेन्टिसको पहिलो वर्षदेखि १८ महिनासम्म व्यवसायका लागि चुनौतीपूर्ण हुने गर्छ। यस अवधिमा उनीहरूबाट तत्काल उत्पादन लिन नसकिने र आवश्यक तालिम तथा शिक्षा प्रदान गर्नुपर्ने भएकाले व्यवसायीहरू नयाँ प्रशिक्षार्थी राख्न हिच्किचाउने गरेका छन्।
हट प्लम्बिङ एन्ड ग्यासकी कोलिन अप्टनले पनि प्रशिक्षार्थी तयार गर्न लामो समय लाग्ने बताइन्। उनका अनुसार एक दक्ष प्लम्बर तयार हुन करिब पाँच वर्ष लाग्छ।
अप्टनले ३४ वर्षको अवधिमा ६० भन्दा बढी अप्रेन्टिसलाई तालिम दिएकी छन्। तर, पछिल्लो १८ महिनामा बजारको अवस्था कमजोर भएकाले नयाँ प्रशिक्षार्थी लिन रोक्नुपरेको उनले बताइन्।
उनका अनुसार अप्रेन्टिस बन्न चाहने युवाको भने कमी छैन। हरेक साता कम्तीमा तीनवटा आवेदन आउने गरेको र विद्यालयको शैक्षिक वर्ष सकिँदा वा तालिमको ब्लक कोर्स पूरा हुँदा एकैपटक ६–७ वटा आवेदनसमेत आउने गरेको उनले बताइन्।
अस्ट्रेलियातर्फ आकर्षण
न्युजिल्यान्डमा तालिम पूरा गरेका दक्ष कामदारलाई अस्ट्रेलियाले आकर्षक तलब र रोजगारीका अवसर दिएर तानिरहेको व्यवसायीहरूको भनाइ छ।
अप्टनका अनुसार हालै एक प्रशिक्षार्थीले न्युजिल्यान्डमा प्रतिघण्टा ३० डलरभन्दा केही बढी कमाइरहेको अवस्थामा अस्ट्रेलियामा प्रतिघण्टा ५५ डलरको रोजगारी पाएपछि उतै गएको उदाहरण छ।
सन् २०२४ मा न्युजिल्यान्डमा प्लम्बिङको तालिम पूरा गरेका रायन विल्सन २३ वर्षको उमेरमै अस्ट्रेलिया गएका थिए। उनले अस्ट्रेलियामा करियरका अवसर, रोजगारी र आम्दानी न्युजिल्यान्डको तुलनामा धेरै रहेको बताए।
उनका अनुसार अन्तिम चरणको तालिम पूरा गरेका युवामध्ये करिब आधाजति अस्ट्रेलिया वा अन्य देशतर्फ जाने अवस्था देखिएको छ।
लोअर हटस्थित Jarvis Plumbing and Gasworksकी सञ्चालक रियानन जार्भिसले पनि दक्ष जनशक्ति अस्ट्रेलिया जाने क्रमले न्युजिल्यान्डमा थप समस्या सिर्जना गरिरहेको बताइन्।
उनका अनुसार पाँच वर्षसम्म आफ्नो कम्पनीमा काम गरेका एक कर्मचारीले ग्यासफिटिङको अन्तिम प्रमाणपत्र प्राप्त गरेको केही समयमै ब्रिस्बेन गए।
जार्भिसले अप्रेन्टिस तयार हुन पाँच वर्ष लाग्ने तर प्रमाणपत्र पाएलगत्तै राम्रो आम्दानी र अवसरका लागि विदेश जान सक्ने अवस्था रहेको बताइन्।
पुरानो जनशक्ति अवकाशको चरणमा
Plumbers, Gasfitters and Drainlayers Boardका अनुसार प्रमाणित प्लम्बर, ग्यासफिटर र ड्रेनेयरको औसत उमेर ४९ वर्ष पुगेको छ।
उद्योगका अनुसार ६५ वर्षभन्दा माथिका करिब १,००० जना कामदार अझै यस क्षेत्रमा कार्यरत छन् र उनीहरू आगामी वर्षहरूमा अवकाशमा जाने तयारीमा छन्। उनीहरू अवकाशमा जाँदा अनुभव, सीप र उत्पादकत्वमा समेत ठूलो कमी आउन सक्ने व्यवसायीहरूको चिन्ता छ।
जार्भिसले न्युजिल्यान्डका प्रत्येक निर्माण परियोजनामा प्लम्बिङ, ग्यासफिटिङ र ड्रेनेज आवश्यक पर्ने भएकाले दक्ष जनशक्तिको अभावले आवास निर्माणदेखि खानेपानी, सरसफाइ र सार्वजनिक स्वास्थ्यसम्म असर पार्न सक्ने बताइन्।
तालिम प्रणालीमा पनि समस्या
उद्योग क्षेत्रले जनशक्ति अभावको अर्को कारण प्रशिक्षार्थीका लागि आवश्यक तालिम र पाठ्यक्रमको उपलब्धतामा रहेको समस्या पनि औंल्याएको छ।
व्यवसायीहरूका अनुसार अप्रेन्टिसलाई आवश्यक कोर्समा भर्ना हुन कठिनाइ, प्रशिक्षकको अभाव र पर्याप्त उपकरण नहुनुले दक्ष जनशक्ति तयार हुने प्रक्रिया थप ढिलो भएको छ।
Master Plumbersका वालेसले जनशक्ति अभाव तत्काल समाधान हुने समस्या नभएको बताएका छन्। उनका अनुसार न्युजिल्यान्डमा पूर्वाधारको दीर्घकालीन योजना कमजोर भएजस्तै आवश्यकताअनुसार जनशक्ति योजना बनाउने विषयमा पनि पर्याप्त ध्यान दिइएको छैन।
ग्यासफिटिङ क्षेत्रमा अवस्था अझ गम्भीर रहेको उनले बताए। प्राकृतिक ग्यासको भविष्य र यस विषयको राजनीतिक बहसका कारण पछिल्ला वर्षमा यस क्षेत्रमा नयाँ तालिम लिने मानिसको संख्या घटेको उनको भनाइ छ।
महिलालाई अवसर दिनुपर्ने माग
उद्योगले महिलालाई पनि थप अवसर दिएर जनशक्ति अभाव समाधान गर्न सकिने बताएको छ।
प्लम्बिङ, ग्यासफिटिङ र ड्रेनेज क्षेत्रमा करिब १४ हजार मानिस कार्यरत रहे पनि महिलाको संख्या १२० मात्रै रहेको तथ्यांक उल्लेख गरिएको छ।
अप्टनका अनुसार धेरै महिला यस क्षेत्रमा काम गर्न इच्छुक भए पनि ‘यो महिलाका लागि उपयुक्त काम होइन’ भन्ने सोचका कारण उनीहरूले अन्तर्वार्ताको अवसरसमेत नपाउने अवस्था छ।
उद्योगका अनुसार नयाँ प्रशिक्षार्थी भर्ना घट्नु, दक्ष कामदार अस्ट्रेलिया जानु र ठूलो संख्यामा अनुभवी कामदार अवकाशको चरणमा पुग्नुले न्युजिल्यान्डमा प्लम्बिङ तथा सम्बन्धित क्षेत्रमा आगामी वर्षहरूमा जनशक्ति अभाव अझ गम्भीर बन्ने जोखिम बढेको छ।
