काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
रास्वपाका अनुसार लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य पनि भारत जानेछन् ।
रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्नुका साथै भारतमा रहेका नेपाली समुदायका प्रतिनिधि र पार्टीका शुभेच्छुकहरूसँग पनि छलफल गर्नेछन्। त्यसपछि उनले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने अयोध्याको भ्रमण गर्ने कार्यक्रम छ ।
भेटघाट, छलफल तथा भ्रमण व्यवस्थापनका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको रास्वपाले जनाएको छ । रास्वपाले यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन तथा दुई देशका राजनीतिक दलबीचको संवाद, सहकार्य र आपसी समझदारी विस्तार गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
