नयाँदिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँदिल्लीमा उनलाई फूलमाला, बाजागाजा तथा विशेष सम्मानसहित स्वागत गरिएको हो।

भारत भ्रमणमा रहेका सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँग नयाँदिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमा भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको आपसी हित, राजनीतिक सहकार्य तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

भाजपाले जारी गरेको जानकारीअनुसार भेटवार्तामा दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, लोकतान्त्रिक अभ्यासको आदानप्रदान तथा भविष्यमा सहकार्यका सम्भावनाबारे सकारात्मक संवाद भएको थियो।

रास्वपा प्रवक्ता मनीष झाले सभापति लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गतेसम्म रहने जानकारी दिएका छन्। भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सभापति लामिछानेसँगै रास्वपा महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा र निकिता पौडेल पनि भ्रमण टोलीमा सहभागी छन्।

भाजपाले रास्वपासँगको संवादलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। साथै, भ्रमणले नेपाल र भारतका राजनीतिक दलबीच प्रत्यक्ष संवाद, अनुभव आदानप्रदान र क्षेत्रीय सहकार्यका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरिएको छ।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले त्यहाँ रहेका नेपाली समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। भेटघाट तथा भ्रमण व्यवस्थापनका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको रास्वपाले जनाएको छ।