नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला अष्ट्रेलियाको ब्रिजवेनमा ए–लिग फुटबल खेलिरहेकी छिन्। उनी न्युजिल्यान्डको व्यावसायिक क्लब वेलिङ्टन फोनिक्सबाट ए–लिग वुमेन्समा खेल्न अष्ट्रेलिया पुगेकी हुन्।

साम्बालाई गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाले एक कार्यक्रममार्फत स्वागत गरेको छ। कार्यक्रममा उनले सधैँ देशको गौरवका लागि खेल्ने बताउँदै, विदेशी लिगमा प्राप्त अनुभवले नेपाली महिला फुटबलको स्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

युरोप र एसियाका विभिन्न प्रतिष्ठित क्लबबाट व्यावसायिक लिग फुटबल खेल्दै अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेकी साम्बा आफ्नो आक्रामक खेलशैली, गोल गर्ने क्षमता र मैदानमा देखाउने नेतृत्वका कारण नेपाली महिला फुटबलको सबैभन्दा चर्चित अनुहार बनेकी हुन्।