काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा फेरि सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। क्यानले सोमबार रोहित पौडेललाई हटाउँदै आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी सन्दीपलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको हो।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा सन्दीपलाई एकदिवसीय राष्ट्रिय टोलीको कप्तान चयन गरिएको उल्लेख छ। सोही अवसरमा क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीसमेत घोषणा गरेको छ।
टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा र कप्तान सन्दीप लामिछाने रहेका छन्। नियमित टोलीका सदस्य कुशल भुर्तेल र सोमपाल कामी भने यसपटक टोलीमा परेका छैनन्।
सन्दीप यसअघि पनि नेपाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका खेलाडी हुन्। उनले पहिलोपटक सन् २०२१ को डिसेम्बरमा राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए। त्यतिबेला क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय दुवै टोलीको नेतृत्व दिएको थियो।
पहिलो कार्यकालमा सन्दीपले नेपाललाई १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरेका थिए। तीमध्ये नेपालले चार खेल जित्दा नौ खेलमा पराजय बेहोरेको थियो भने एक खेल बराबरीमा सकिएको थियो। उनको एकदिवसीय कप्तानीमा नेपालको जित प्रतिशत ३२.१४ रहेको थियो।
तर सन् २०२२ मा उनीमाथि उत्पन्न कानुनी विवादपछि क्यानले उनलाई निलम्बन गर्दै कप्तानीको जिम्मेवारी रोहित पौडेललाई दिएको थियो। त्यसपछि रोहित नेपाली राष्ट्रिय टोलीको नियमित कप्तानका रूपमा अघि बढेका थिए।
टी–२० अन्तर्राष्ट्रियमा भने सन्दीपको कप्तानी रेकर्ड तुलनात्मक रूपमा प्रभावशाली छ। सन् २०२१ देखि २०२२ सम्म उनले नेपाललाई १८ टी–२० अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरेका थिए। उनको कप्तानीमा नेपालले १३ खेल जित्दा पाँच खेलमा पराजय बेहोरेको थियो। यस आधारमा उनको जित प्रतिशत ७२.२२ रहेको छ।
यसबीच रोहित पौडेलको चार वर्ष लामो एकदिवसीय नेतृत्व यात्रामा पूर्णविराम लागेको छ। सन् २०२२ को नोभेम्बरमा सन्दीपको स्थानमा कप्तान बनेका रोहितले नेपाली क्रिकेटमा लामो समय टोलीको नेतृत्व गरे। उनले ५५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको कप्तानी गर्दै २८ खेलमा जित दिलाएका थिए।
रोहितको नेतृत्वमा नेपालले एकदिवसीय क्रिकेटमा महत्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको थियो। तर पछिल्लो समय आईसीसी विश्वकप लिग–२ मा नेपालको कमजोर प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। यससँगै रोहितले एकदिवसीय र टी–२० दुवै प्रारूपको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तान नियुक्त गरिसकेको छ।
