नयाँ वर्ष २०२६ को सुरुवातसँगै अष्ट्रेलियामा कतिपय नयाँ नियम लागू हुँदैछन् भने केही विद्यमान व्यवस्थामा महत्वपूर्ण परिमार्जन गरिएको छ। जनवरी १ बाट लागू भएका यी परिवर्तनले लाखौँ अष्ट्रेलियन नागरिकसँगै नेपाली समुदायलगायत आप्रवासीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

सरकारले स्वास्थ्य, यातायात, नगद कारोबार र बालहेरचाहजस्ता क्षेत्रमा सुधारका लागि नयाँ व्यवस्था लागू गरेको हो। जनवरी १ देखि लागू भएका पाँच प्रमुख अपडेट यसप्रकार छन्–

पहिलो, मेडिकेयरअन्तर्गत चिकित्सकले प्रेस्क्रिप्सन लेखेर दिएका औषधि खरिद गर्दा लाग्ने शुल्क घटाइएको छ। अब औषधि किन्दा तिर्नुपर्ने रकम ३१.५० डलरबाट घटेर २५ डलर कायम गरिएको छ, जसले दीर्घरोगी र नियमित औषधि सेवन गर्नेहरूलाई राहत पुग्नेछ।

दोस्रो, पेट्रोल पम्प, ग्रोसरी स्टोरजस्ता अत्यावश्यक सेवास्थलमा ५ सय डलरसम्म नगद कारोबार सुविधा उपलब्ध गराइने भएको छ। वार्षिक कारोबार १० मिलियन डलरभन्दा कम भएका व्यवसायका लागि भने यो व्यवस्था अनिवार्य नहुने स्पष्ट गरिएको छ।

तेस्रो, बालहेरचाह क्षेत्रमा मेडिकेयरअन्तर्गतको चाइल्ड केयर रिबेट (CCR) सुविधामा सुधार गरिएको छ। अब अभिभावकले १५ दिनमा ७२ घण्टासम्मको बालहेरचाह सुविधा लिन सक्नेछन्।

चौथो, भिक्टोरिया राज्यभर १८ वर्षसम्मका युवाहरूले पाँच डलरको युथ माईकी कार्ड लिएपछि सार्वजनिक यातायातमा भाडा तिर्नु नपर्ने व्यवस्था लागू गरिएको छ। यसले विद्यार्थी र युवालाई ठूलो राहत दिनेछ।

पाँचौँ, न्यु साउथ वेल्स (NSW) राज्यमा सवारी साधनको टोल यात्राको भाडा बढाइने भए पनि, नियमित टोल प्रयोग गर्ने बासिन्दालाई लाग्ने ८० डलरको मासिक क्यापलाई स्थायी बनाइएको छ।

नयाँ वर्षसँगै थप परिवर्तनहरू आउने भए पनि, यी पाँच प्रमुख सुधारले दैनिक जीवन खर्च घटाउन सहयोग गर्ने र विशेषगरी नेपाली समुदायसहित आप्रवासी परिवारहरूलाई उल्लेखनीय राहत दिने बताइएको छ।