काठमाडौँ
नेपालमा मस्तिष्कघातको अनुसन्धान र उपचार विषयमा विशेष गम्भीरता अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल मस्तिष्कघात सङ्घले काठमाडौंमा आयोजना गरेको ‘मस्तिष्कघातको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदम’ विषयक कार्यशालामा सहभागीहरूले अनुसन्धानका निष्कर्षको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
सङ्घका निवर्तमान अध्यक्ष डा.राजु पौडेलले मस्तिष्कघात रोकथाम, समयमै उपचार, र उपचारपछिका सावधानीबारे व्यापक छलफल भएको जानकारी दिए । उनका अनुसार, ‘परम्परागत उपचार विधिलाई आधुनिकतर्फ लैजान र नेपालका सन्दर्भमा प्रभावकारी उपचार सुनिश्चित गर्न कार्यशालामा विचारविमर्श भएको छ।’ सङ्घले यसका लागि मस्तिष्कघात उपचार निर्देशिका तयार गरी सरकारलाई बुझाइसकेको छ र त्यसको कार्यान्वयनबारे छलफल गरिएको छ।
नेपालमा प्रत्येक १० मिनेटमा एक व्यक्तिलाई मस्तिष्कघात हुने तथ्याङ्क सङ्घले सार्वजनिक गरेको छ। अध्ययन अनुसार, प्रत्येक वर्ष ५० हजारदेखि ६० हजार व्यक्तिलाई मस्तिष्कघात प्रभावित बनाउने गर्दछ।
मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने जटिल रोग हो। मस्तिष्कमा अक्सिजन र पोषक तत्वको कमी हुँदा रक्त धमनीमा रगत जम्मा भएर अवरोध सिर्जना हुन्छ, जसले मस्तिष्कले आफ्नो कार्य नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना गर्छ। समयमै उपचार नगरे व्यक्तिको मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन सक्ने र मृत्युसम्म पुग्न सक्ने चिकित्सकहरूले बताएका छन्।
वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजङ्ग थापाले सन् २०१७ मा नेपाल मस्तिष्कघात सङ्घ स्थापना भएको र त्यसयता विभिन्न कार्यक्रम मार्फत मस्तिष्कघातको अवस्थाबारे अनुसन्धान र सचेतनामूलक काम भइरहेको बताए। उनले हालै विश्वका पाँच सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ सम्पन्न गरिएको पनि जानकारी दिए ।
कार्यशालामा सहभागीहरूले मस्तिष्कघातको जोखिम र प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन्। तथ्याङ्कअनुसार, मस्तिष्कघात भएकामध्ये करिब एक तिहाइले अकालमा ज्यान गुमाएका छन्। विश्वस्तरमा हरेक चार जनामध्ये एकजनालाई मस्तिष्कघात हुने सम्भावना र तीन सेकेन्डमा एकजनालाई पक्षघातको जोखिम रहेको बताइएको छ। यसले सरकारले मस्तिष्कघात रोकथाम र उपचारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
