लमजुङ । धानखेती थन्काइसकेका लमजुङका किसानहरु अहिले कोदो बाली थन्काउन व्यस्त छन्। मङ्सिर पहिलो सातादेखीदेखि किसानहरूले कोदो टिप्न थालेका हुन्। साउनमै रोपिएको कोदो अहिले पाकेकाले स्थानीयहरू कोदो टिप्नमा ब्यस्त भएका हुन् । भदौमा रोपिएको कोदो भने मङ्सिर अन्तिममा मात्रै टिप्न हुने गरी पाक्छ ।
मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामचौरका किसान रत्नबहादुर गुरुङका अनुसार भलामचौर, सिम्पानी, मिर्चे लगायतका क्षेत्रमा किसानहरू कोदो थन्काउन व्यस्त छन्। जिल्लाका आठै पालिकाका ग्रामीण क्षेत्रहरूमा कोदो खेती हुँदै आएको छ र यस वर्ष उत्पादन वृद्धि हुने किसानहरूले बताएका छन्। बेसीशहर नगरपालिकाकी देउकाशी गुरुङले भनेकी छिन्, “यस वर्ष रोगकिरा लागेन, मौसम पनि अनुकूल भयो, त्यसैले उत्पादन राम्रो हुने देखिन्छ।”
मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा रैथाने बाली प्रवर्द्धनका लागि २५ जातका कोदो लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा गरिएको परीक्षणमा यी २५ जातले राम्रो उत्पादन दिएको वडाअध्यक्ष ओमविर गुरुङले बताए । खाद्य तथा कृषि सङ्गठनको आर्थिक सहयोगमा राष्ट्रिय अनुवंशिक स्रोत केन्द्र (जिन बैंक)बाट सञ्चालित रैथाने कृषि परियोजनाअन्तर्गत मध्य नेपालको पराजुलीबेसी मगर गाउँमा २२ प्रकारका र आमडाँडामा २५ जातका कोदो रोपिएको छ।
कृषि ज्ञान केन्द्रको प्रक्षेपण अनुसार यस वर्ष २५ प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने अनुमान छ। अघिल्ला वर्षमा फौजी किराको आक्रमण र प्रतिकुल मौसमका कारण उत्पादन घटेको थियो। जिल्लाको ग्रामीण भेगमा कोदो प्रमुख बालीमध्ये पर्छ। कुल ७,९१५ हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट गतवर्ष २० हजार टन उत्पादन भएको थियो।
उत्पादन बढेपनि हाल उत्पादित कोदो प्रायः घरेलु मदिरा बनाउन प्रयोग भइरहेको छ। अन्य खाद्यान्नको तुलनामा कोदोमा बढी पौष्टिक तत्व हुने भए पनि सर्वसाधरणमा पर्याप्त जानकारी नहुँदा यसले जाँडरक्सीमा परिणत हुने गरेको छ। केही वर्षअघि कोदोलाई गरिब वर्गको खाद्यान्न मानिने गरिन्थ्यो, तर आजकल धनाढ्य वर्गले पनि शोखको रूपमा प्रयोग गर्ने गरेका छन्। मधुमेहलगायतका विरामीका लागि कोदोका परिकार स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ। तर जाँडरक्सी बनाउन बढी प्रयोग हुने भएपछि ढिँडो वा पिठो खाँदाका लागि पाउन कठिन भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज, मिनरल र क्याल्सियम पर्याप्त मात्रामा पाइन्छ। पौष्टिक तत्वको कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिशुहरूका लागि लिटो बनाउँदा कोदोको पिठो प्रयोग गर्न सिफारिस गरेको छ। समाचार स्रोत फोटो गोरखापत्रका पत्रकार नवीनराज कुइँकेलबाट
