भागदौडपूर्ण राजनीतिक जीवन–यात्रामा मैले तिम्रो सपना पूरा गर्न सकिनँ, दुःख भयो तिमीलाई, मैले सुख दिन सकिनँ । 

लालबाबु पण्डित

प्यारी विमला ! गएको १५ जेठमा तिमी कहिल्यै नफर्किने गरी हामी सबैलाई छाडेर गयौ । तिमी अनन्तः यात्रामा गएपछिका दिनहरू एक्लै–एक्लै लाग्छन्, निरस लाग्छन् । कहिले म एक्लै रुन्छु, कहिले छोरी र मसँगै रुन्छौं । छोरीलाई सम्झाउँछु, छोरी मलाई सम्झाउँछिन् । 

मेरो भागदौडपूर्ण जीवन (सार्वजनिक/राजनीतिक) का कारण तिम्रा थुप्रै व्यक्तिगत सपना पूरा गर्न सकिनँ । तिम्रो भागमा सुखभन्दा दुःख नै बढी पर्‍यो । तर, बाँचुन्जेल तिमीप्रतिको मेरो माया घट्ने छैन, बरु बढेरै जानेछ । पहिले भौतिक रूपमा पनि साथै थियौ, अहिले माया बनेर स्मृतिमा बसेकी छौ ।

तिमीले विवाहमा लगाइदिएको एउटा औंठी छ, जुन मैले पछि कहिल्यै लगाएको छैन । अब तिम्रो सम्झना र प्रेमका लागि लगाउनेछु । त्यही एउटा औंठी त छ चिनो हाम्रो प्रेमको । अबको मेरो जीवन यात्रा तिम्रो स्मृतिमा बित्नेछ । मलाई विश्वास छ, आगामी दिन जेसुकै परिस्थिति आए पनि सामना गर्नेछु ।

हाम्रो जीवन–यात्रा कस्तो थियो ? कसरी हामी भेटियौं ? एक पटक हामी दुवै ती दिनहरू ताजा बनाऔं है ।

२२ जेठ २०५९ मा हाम्रो विवाह हुँदा तिमी भैंसेपाटी गाविस– ४ को वडाध्यक्ष थियौ । म भने प्रतिनिधिसभा सदस्य थिएँ । हाम्रो विवाहको तयारीका लागि धेरै साथीहरू स्वतःस्फूर्त रूपमा सक्रिय लाग्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य सुशीला नेपालले पहिलो पटक तिम्रो कुरा गर्नुभएको थियो । उहाँले विवाह गर्न चाहनुहुन्छ भने एक जना योग्य चेली छन्, म कुराकानी चलाउँछु भन्नुभएको थियो । विवाहका लागि साथीहरूले कुरा चलाएको डेढ वर्ष भइसकेको थियो । त्यहीबीच २०५८ को मार्च ८ (नारी दिवस) मा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा तिमी र मेरो भेट त्यहीं भएको हो । एमालेको प्रमुख सचेतक भरतमोहन अधिकारी हुनुहुन्थ्यो । उहाँको चेम्बरमा हाम्रो विवाहबारे कुरा चल्यो । भरतमोहनले भन्नुभयो, ‘विवाह गर्न किन पर्खने ? मेरो गाडी छँदै छ, आजै भित्र्याऔं ।’ मैले भने, ‘पर्खौं । म आमा र दाजुसँग सल्लाह गर्छु । अनि निष्कर्ष निकालौं ।’

आमा (फूलकुमारी) सँग सल्लाह गरें । सर्लाही बसबरियामा आफ्नै गाउँमा बस्नुहुन्थ्यो । आमाले हाम्रो विवाह प्रस्तावलाई तत्काल स्वीकार गर्नु भएन । पहिले केटी हेरौं, त्यसपछि विवाह छिनौंला भन्ने भन्नुभयो । त्यसपछि दाजु, भाउजू केटी हेर्न काठमाडौं आउनुभयो । तिमीलाई सम्झना नै होला, मैले समय मिलाएर तिमीसँग भेट गराएको ।

त्यसपछि मात्र विवाह टुंगो लाग्यो । सामान्य टिकाटाला पछि विवाहको मिति तय भयो– २०५९, जेठ २२ मा । म ४४ वर्षको थिएँ, तिमी ३८ । विवाहको मिति तय भएको केही दिनपछि संसद् विघटन भयो ।

संसद् विघटनपछि विवाहको थलो पार्टीका केन्द्रीय कार्यालय बल्खुको माथिल्लो हल बनाइयो । झन्डै छ/सात सय मानिसको उपस्थितिमा हाम्रो जनवादी विवाह भयो । प्रमुख अतिथि तत्कालीन महासचिव माधवकुमार नेपाल हुनुहुन्थ्यो । महिला स्वागत समितिको जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य (हाल एमाले उपाध्यक्ष) र पुरुष स्वागतको जिम्मेवारीमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी हुनुहुन्थ्यो । एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चले वैवाहिक कार्यक्रम आयोजना गरेको थियो । पुरोहित मोदनाथ प्रश्रित (एमाले पूर्वनेता) हुनुहुन्थ्यो । कमभन्दा कम खर्चमा विवाह गर्ने निधो भएको थियो । एउटा फोटोकपी पेपरमा चार वटा निम्तो पत्र प्रिन्ट गरेर बाँडिएको थियो । विवाहमा चिया र खाजाको व्यवस्था गरिएको थियो । डीआईजी केशव बरालजीले मेरो कोटेश्वर डेरादेखि बल्खुसम्म जन्ती जान एउटा गाडी व्यवस्था गरिदिनुभएको थियो । त्यतिबेलाको सामाजिक अवस्थाको कुरा गर्दा हाम्रो अन्तरजातीय विवाह थियो ।

बल्खुको त्यो विवाहमा पानसमा दुई वटा दियो बालेर हामी दुर्ईले एक भएको घोषणा गरेका थियौं । विवाहको स्टेजमा हामीलाई सिन्दूर लगाउन भने दिइएन । मञ्चमा सिन्दूर लगाउन हुँदैन भनेपछि घर गएर आमालाई साक्षी राखेर मैले तिमीलाई सिन्दूर लगाइदिएको क्षण स्मृतिमा अझै ताजा छ । मञ्चमा चाहिँ हामीले दुबोको फूलमाला साटासाट गर्‍यौं । काठमाडौं विवाह गरेर हामी विराटनगर गयौं । विराटनगर पुग्दासम्मको विवाह खर्च जम्मा १० हजार भएको थियो ।

म विवाह नै गर्दिनँ भनेर बसिरहेको मान्छे, राजनीतिक कारणले नै विवाह नगरौं भन्ने लागिराखेको थियो । पछि विवाहले राजनीतिलाई सघाउ पुग्ला भन्ने सोचेरै विवाह गर्ने मनस्थितिमा पुगेको थिएँ ।

विवाह हुँदा दुई चोटि सांसद निर्वाचित भइसकेको थिएँ । हाम्रो प्रेमविवाह होइन, तर प्रेम नै नभएको भए विवाह पनि हुने थिएन । केटी देखाइसकेपछि, कुराकानी भइसकेपछि प्रेम बढ्ने नै भयो । विवाह पारिवारिक संलग्नतासहित भए पनि अलि अलि विद्रोह नै थियो ।

विवाहलगत्तै तत्कालीन ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु भयो । त्यसविरुद्ध आन्दोलन र सडक आन्दोलनको नेता भएपछि लगातार मेरो अधिकांश समय सडकमै बित्यो । विराटनगरको मोर्चाबाट दुई चोटि पक्राउ परें । त्यतिखेर थुप्रै नेता डराएका थिए । हामी दुवै श्रीमान्–श्रीमती जेल पर्‍यौं, विराटनगरमै । मलाई पुरुष जेलमा, तिमीलाई महिला जेलमा राखियो ।

त्यसअघि पनि मैले त पटक–पटक जेल–नेल, गोलघर भोगिसकेको थिएँ । तर, तिमी पहिलो चोटि जेल परेकी थियौ । तिमीले जेलमा अलि न्यास्रो मानेको मलाई सूचना आयो । मैले जेलरलाई एकछिन तिमीसँग भेटाइदिन आग्रह गरें । जेल नजिकै थियो एकै कम्पाउन्डमा, हामी १५ मिनेटका निम्ति भेटियौं । हाम्रो भेट भइसकेपछि थोरै भए पनि तिमीलाई सान्त्वना मिलेको थियो । विवाहअघि नै मैले तिमीलाई ‘मलाई सुगर छ’ भनेको थिएँ । जवाफमा तिमीले ‘म बलियो मान्छे आइहाले नि स्याहार्छु’ भनेकी थियौ । पहिले तिमीलाई अदालतले छोड्यो, त्यसपछि मलाई ।

ढिलो विवाह हुँदा आफ्नै समस्या हुन्छन् । हामी दुवै राजनीतिमा सक्रिय । निजी जीवन भन्ने थिएन । तिमीले पछिसम्म गुनासो गरिरह्यौ– विवाह गरेर कहीं हनिमुनमा जान, घुम्न पाइनँ ।

You are gone, the ring is familiar!

म संविधानसभामा आएपछि अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको सभापति बनें । संविधान निर्माणको काममा विभिन्न जिल्ला जानुपर्थ्यो । तिमी विराटनगर थियौ । मैले तिमीलाई बिरामी अवस्थामै छोडेर हिँडेको थिएँ । तिमीले त्यसबेला फोनमा भनेको कुरा अझै पनि कताकता मनमा बिझिरहन्छ, ‘हाम्रो विवाह भएको हो कि होइन ? हामी सँगै छौं कि अलग भइसक्यौं ?’ मेरा लागि त्यो एकदम पीडादायी क्षण थियो ।

म कहिलेकाहीं भन्थे– माइती भने पनि मै हुँ, घर भने पनि मै हुँ । मैले तिमीलाई भित्र्याएदेखि नै कोटेश्वर डेरामै राखें । तिमी भन्थ्यौ– मलाई डेराबाटै बिदा गर्नुहुन्छ कि क्या हो ? तर, भयो पनि त्यस्तै । तिमी जहाँ भित्रियौ, त्यहींबाट बिदा भयौ । हाम्रो आफ्नै बास बनाउने सपना कहिल्यै पूरा भएन । म अहिले पनि कोटेश्वरमै डेरामै छु । ती कुराले मलाई अझै पनि घोचिराख्छ ।

तिमी पहिल्यैदेखि भन्थ्यौ– सार्वजनिक जिम्मेवारी त छँदै छ, अलिकति परिवारको निजी भविष्य पनि सोचदिनुस् । म भन्थें, जीवन नै राष्ट्रका निम्ति समर्पण गरेको छु, निजी भन्ने कुरा कहाँ हुन्छ र ?

तिमीले मलाई राजनीतिमा सधैं साथ दियौ । तिम्रो स्वभाव थियो– केही खराब कुरा समाचारमा आए तुरुन्तै चिन्तित भइहाल्ने । कहिलेकाहीं आक्रोश व्यक्त गरिहाल्ने ।

हाम्रो जीवन–यात्रामा ठाकठुक पनि भए बेलाबेला । त्यो नभए प्रेम पनि गाढा हुँदैन । ठाकठुकको विषय बढीजसो देशकै विषयमा हुन्थ्यो । छोरीलाई हुर्काउने/पढाउने विषयमा धेरै विवाद हुन्थेन । तिमी हुन्जेलसम्म परिवारको घरायसी कुराहरूको मलाई कुनै चिन्ता थिएन । तिम्रो कारणले म एक किसिमले ढुक्क थिएँ । अब त बाबु–छोरी छौं, सबै कुरा एक्लै हेर्नुपर्छ ।

तिमीलाई उपचार सम्भव नहुने मायोसाइटिस रोग थियो– रियर बाथ । चिकित्सकहरूले यो रोगले त मांसपेशी गलाउँदै जान्छ, पछि हड्डी र मासु छुट्याइदिन्छ भन्थे । १०–१५ लाखमध्ये कोही एक जनालाई यो रोग लाग्दो रहेछ ।

सम्भव भएसम्म तिम्रो उपचार गरिएको हो । तर, अन्ततः तिमीले छोडेर गयौ । ‘अब बचाउन सकिँदैन कि क्या हो’ भन्ने लागेपछि मैले पनि हरेस खान थालें । आँखाबाट आँसु बग्न सुरु भएको हो । किरियामा हुँदा या अहिले पनि वा आजै बिहान पनि तिमीलाई सम्झेर आँसु बगिरहेकै छ । कुनै दिन छैन, तिम्रो सम्झनामा नरोएको । कुनै दिन त अलि बढी नै पीडा हुन्छ । मैले कल्पनै गरेको थिइनँ– तिमी यति छिट्टै हामीलाई छोडेर जानेछौ । ‘म डेरामै आएर डेराबाटै बिदा हुनुपर्छ’ भन्ने भनाइ अझै पनि कानमा गुन्जिरहन्छ । त्यसले झनै पीडा दिन्छ र झस्काउँछ ।

You are gone, the ring is familiar!तिम्रो अन्तिम इच्छा थियो– म मरेपछि मूर्ति बनाइदिनू ! छोरीलाई भन्थ्यौ– बुबा बितेपछि मेरोसँगै बुबाको पनि स्ट्याचु राख्नू, दुवै जनाको एउटै ठाउँमा स्ट्याचु हुनुपर्छ ! तिमीलाई थाहा छ । तिम्रो इच्छाअनुसार मैले कोठामा राख्न मिल्ने तिम्रो मूर्ति बनाउन लगाएको छु जनकपुरका कालीगढलाई ।

हस्पिटलको बेडमा तिमीले भनेको कुरा सम्झिँदा पनि आँसु झरिहाल्छ । तिमीले एक दिन भनेकी थियौ– म बितेपछि तपाईंले धेरै दुःख पाउनुहुन्छ । त्यस्तै छोरीसँग भनेकी रहेछौ– बुबालाई हेर्नु र दुःख नदिनू, सधैं माया गर्नू । त्यही भएर होला, छोरी मलाई कोठाको ढोका नलगाइकन सुत्न भन्छिन् ।

तिमीलाई सपनामा देख्दिनँ, विपनामै देखिरहेको हुन्छु । ल्यापटप खोल्दा त्यसैमा तिमी, मोबाइलमा तिमी । तिमीले प्रयोग गरेका सबै चीज जतनसँग राखेको छु । तिम्रो श्रद्धाञ्जलीस्वरूप ४७ वटा फ्रेम आएका थिए, कोठामै छन् सबै ।

अब बास बनाएपछि एउटा विशेष कोठा बनाउँछु– तिम्रो निम्ति, जहाँ तिम्रा सबै सरसामान संरक्षण गर्नेछु ।

तिमी र म करिब २३ वर्ष भौतिक रूपमा सँगै रह्यौं । तिमी संसारबाट सदाका लागि हिँड्दा हाम्रो विवाह भएको २३ वर्ष पुग्न एक हप्ता मात्रै बाँकी थियो । श्रीमान्–श्रीमतीको सम्बन्ध सुखमा रमाउने र दुःखमा पनि साथै रहने हो । श्रीमती हुँदाको घर र एक्लो हुँदाको घरमा धेरै अन्तर हुन्छ । श्रीमान्–श्रीमतीको माया पनि चरणअनुसार फरक हुँदोरहेछ– जस्तो विवाहका बेला त्यो जवान अवस्थामा र निजी रूपमा गरिने प्रेम अलग हुन्छ । छोराछोरी भएपछि खुसियालीको अर्को चरण सुरु हुने रहेछ । त्यसपछि जति पाको हुँदै गयो, त्यति प्रेमको परिभाषा फराकिलो हुँदै जान्छ । माया झन् गाढा हुँदै जान्छ ।

सामाजिक बन्धनहरूले हामीलाई अनुशासित पनि बनाएको थियो । अहिले सामाजिक बन्धनहरू फुक्का भए– चुँडिए । कोही कसैले कसैको कुरा सुन्ने पक्षमा छैन । सबै ‘मै प्रमुख हुँ’ भन्ने ठान्छन् । पुँजीवादले हामीलाई गालेर यस्तो बनायो । प्रेम त आखिर दुःख–सुखको सार्थक र यथार्थ भोगाइ रहेछ, जसले सम्बन्धलाई गहिराइमा, उचाइमा र निष्कर्षमा पुर्‍याउँछ ।

– उही तिम्रो, लालबाबु

कान्तिपुरबाट