काठमाडौंको तीनधारा पाठशालाबाट बिहीबार साँझ सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म सञ्चालन हुने यो जात्राअन्तर्गत पहिलो दिन रथ तीनधाराबाट असनसम्म पुर्‍याइएको छ।

असनमा रथको विशेष पूजा–आराधना गरिनेछ। राजधानीको भित्री क्षेत्रमा तीन दिनसम्म चल्ने यस रथयात्राले पुराना बस्तीहरूमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढाएको छ।

परम्पराअनुसार दोस्रो दिन रथलाई वसन्तपुरस्थित कालभैरव मन्दिरअगाडि लगिनेछ। त्यसपछि वसन्तपुर, जैसीदेवल र लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्राको समापन गरिनेछ।

यसअघि तीनधारा पाठशालाअगाडि करिब ३२ हात लामो रथ निर्माण गरिएको थियो, जसलाई नागराजको प्रतीकका रूपमा मानिन्छ। प्रत्येक वर्ष यो जात्रा सम्पन्न गरेपछि समयमै वर्षा हुने र सहकाल आउने धार्मिक विश्वास रहिआएको छ।

राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि परम्पराअनुसार रातो मच्छेन्द्रनाथको रथयात्रा पनि सुरु हुने गर्छ।