राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ।
पार्टीका अनुसार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता चयनलगायत विभिन्न एजेन्डामा छलफल हुनेछ। केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बस्नेछ, जसले शाहलाई संसदीय दलको नेतामा चयन गर्ने कार्यसूची रहेको छ।
गत पुस १३ गते बालेन्द्र शाहसँग भएको सात बुँदे सहमतिअनुसार पार्टी सभापतिमा रवि लामिछाने रहने र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको थियो। सोही सहमतिअनुसार अब संसदीय दलको नेतामा शाहलाई चयन गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।
भोलि प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने तयारी रहेकाले त्यसअघि नै उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइनेछ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेपछि संविधानको धारा ७६(१) अनुसार राष्ट्रपति Ram Chandra Paudel रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
