नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले योजनाबद्ध रूपमा आफूलाई दुःख दिने र अपमानित गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ। गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि सुन तस्करसरह व्यवहार गरिएको भन्दै उहाँले गम्भीर असन्तोष व्यक्त गर्नुभयो।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा भएको व्यवहार “माथिबाट आदेश आएको” भन्ने बहानामा गरिएको दाबी गर्नुभयो। उक्त घटनाले आफूलाई सभ्य समाजमा नभएको अनुभूति गराएको उहाँको भनाइ थियो।

ओलीले झापा जाँदा विमानस्थलमा सामान्य र सम्मानजनक व्यवहार भएको तर फर्किँदा अनावश्यक जाँच र अपमानजनक व्यवहार सहनुपरेको उल्लेख गर्नुभयो। विदेश यात्राका क्रममा समेत कहिलेकाहीँ नचिनेका स्थानमा नेपालीहरूप्रति हेपाहा प्रवृत्ति देखिने गरेको उदाहरण दिँदै उहाँले काठमाडौं विमानस्थलमा पनि त्यस्तै व्यवहार भोग्नुपरेको बताउनुभयो।

“किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको भनियो। यसले सरकारको सोच र नियत के हो भन्ने स्पष्ट हुन्छ,” ओलीले भन्नुभयो। उहाँले सरकारले नेताहरूप्रति अपमानजनक रवैया देखाएको आरोप लगाउँदै यसले देशमा बेथिति, अन्याय र असभ्य राजनीतिक संस्कार झल्किएको टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले आफू व्यक्तिगत सम्मानका लागि नभई देश, जनता र जनताको इज्जतका लागि लडिरहेको स्पष्ट पार्नुभयो। वर्तमान सरकारलाई अराजनीतिक र असभ्य भन्दै उहाँले देशलाई पुनः सभ्य र सुसंस्कृत बाटोमा फर्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा ओलीले देशलाई सही दिशामा अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व लिनु अपरिहार्य रहेको दाबी गर्दै अन्ततः सबै कुराको फैसला जनताले निर्वाचनमार्फत गर्ने विश्वास व्यक्त गर्नुभयो।