मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई पराजित गर्दै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइजलाई २–० ले हराउँदै शीर्ष स्थानको होडमा आफूलाई मजबुत रूपमा उभ्याएको हो।

यस जितसँगै मच्छिन्द्रले लिगमा लालीगुराँससँगै तेस्रो जित आत्मसात गरेको छ। मच्छिन्द्रका लागि सौरभ लिम्बू र जोनाथन कान्टिलानाले समान एक–एक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। यो हार प्लानिङ ब्वाइज युनाइटेडको जारी लिगमा पहिलो हो। यसअघि उसले एक जित र एक बराबरीको नतिजा निकालेको थियो।

खेलको सुरुवातमा प्लानिङ ब्वाइजले आक्रामक खेल प्रदर्शन गर्दै मच्छिन्द्रलाई चुनौती दिएको थियो। १०औं मिनेटमा श्यामु मुर्मुले करिब १२ यार्डबाट गरेको प्रहार माथिल्लो बारबाट बाहिरिँदा प्लानिङले अग्रता लिने मौका गुमायो। २९औं मिनेटमा प्रताप सिंह राईले लामो दूरीबाट गरेको प्रहार पनि गोलपोस्टको दिशामा जान सकेन।

मच्छिन्द्रले ४१औं मिनेटमा सौरभ लिम्बूको गोलमार्फत अग्रता बनायो। फ्रान्क इसाकले पेनाल्टी बक्सभित्र दिएको बलमा जोनाथन कान्टिलानाले फिनिस गर्न नसकेपछि डिफेन्डरको खुट्टामा ठोक्किएको बल अनमार्क सौरभसम्म पुगेको थियो। गोलकिपर योगेश धिमाल बिट भएको अवस्थामा सौरभले खाली पोस्टमा सजिलै गोल गरे।

पहिलो हाफ १–० को अग्रतासहित समाप्त भएको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। ५०औं मिनेटमा फ्रान्कको क्रसमा जोनाथनको हेडरलाई प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप गोलबाट जोगाएका थिए। ६३औं मिनेटमा प्लानिङ ब्वाइजले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

मच्छिन्द्रले ७४औं मिनेटमा दोस्रो गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। प्रदीप बुढाथोकीको पासमा जोनाथन कान्टिलानाले करिब १५ यार्डबाट आकर्षक गोल गरेका हुन्। ८६औं मिनेटमा अविनाश स्याङ्तान पेनाल्टी बक्सभित्र लडाइएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पायो। तर, जोनाथनको प्रहारलाई गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गरे।

इन्जुरी समयमा फ्रान्क इसाकको शक्तिशाली प्रहार योगेशको हातमा लाग्दै पोलमा ठोक्किएर फर्किएपछि थप गोल हुन सकेन। अन्ततः मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडमाथि २–० को सशक्त जित दर्ता गर्‍यो ।

फोटो : न्युज एजेन्सी नेपाल