नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो राजनीतिक जीवनमा सधैँ सजिलोभन्दा चुनौतीपूर्ण बाटो रोज्दै आएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्रको संघर्षदेखि आगामी निर्वाचनसम्म आफूले सचेत रूपमा कठिन निर्णयहरू लिँदै आएको स्पष्ट पार्नुभयो।

थापाले पार्टीभित्र सजिलो विकल्प अस्वीकार गर्दा पाँच वर्षसम्म निष्कासन भोग्नुपरेको स्मरण गर्नुभयो। विशेष महाधिवेशनमा कार्यकर्ताहरूको साथका कारण पुनः पार्टी राजनीतिमा स्थापित हुन सफल भएको उहाँको भनाइ थियो। त्यतिबेला समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउन सक्ने उहाँले स्वीकार गर्नुभयो।

आगामी निर्वाचनको सन्दर्भमा थापाले काठमाडौं क्षेत्र नम्बर ४ आफूका लागि सहज निर्वाचन क्षेत्र भए पनि जानाजानी चुनौतीपूर्ण निर्णय गर्दै सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौंमा उम्मेदवार नछानेका दलहरू समेत रहेकाले त्यो क्षेत्र आफ्नो लागि अत्यन्त सहज थियो। तर राष्ट्रिय नेता बन्न सिंगो देश बुझ्न आवश्यक ठानेर मधेस रोजेको उहाँको भनाइ छ।

पहाड र शहरको जीवन नजिकबाट बुझ्ने अवसर पाए पनि मधेसलाई गहिरो रूपमा बुझ्ने अवसर नपाएको उल्लेख गर्दै थापाले मधेस बुझ्नकै लागि सर्लाही रोजेको प्रष्ट पार्नुभयो। सर्लाहीमार्फत सम्पूर्ण मधेसका मुद्दा बुझ्ने र उठाउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो।

यसै कार्यक्रममा थापाले सर्लाही–४ बाट निर्वाचित भए मधेस र सर्लाहीका मुद्दा संघीय संसद र सिंहदरबारमा फरक ढंगले उठ्ने दाबी गर्नुभयो। आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने शैली र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उहाँको भनाइ छ। सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउँदै थापाले मतदातासँग विश्वासको सम्बन्ध कायम रहने विश्वास व्यक्त गर्नुभयो। चुनाव जित्न सबैको मेहनत आवश्यक हुने उल्लेख गर्दै उहाँले आफ्ना नेता–कार्यकर्तालाई चुनावी अभियानमा एकजुट भएर लाग्न आग्रह गर्नुभयो। आफ्नो उम्मेदवार बलियो छ भन्दै अरूलाई कमजोर नआँकलन गर्नसमेत उहाँले सचेत गराउनुभयो।

थापाले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने स्पष्ट पार्दै चुनावपछि पनि मतदाताहरूले सजिलै भेट्न सक्ने प्रतिबद्धता जनाउनुभयो। काठमाडौं क्षेत्र नम्बर ४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आभार व्यक्त गर्दै उहाँले उक्त क्षेत्रको सेवामा सधैँ समर्पित रहने उल्लेख गर्नुभयो।