काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार सुर्खेतबाट उनलाई नियन्त्रणमा लिएको हो।

विभाग स्रोतका अनुसार पक्राउअघि अनुसन्धान टोलीले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेर केही महत्वपूर्ण कागजात तथा प्रमाणसमेत नियन्त्रणमा लिएको थियो। पौडेलमाथि सेयर कारोबार, सम्पत्तिको स्रोत तथा आर्थिक गतिविधिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग निकट स्रोतका अनुसार राज्यको उच्च जिम्मेवारीमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहलाई लाभ पुग्ने निर्णयहरू गरेको र त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक फाइदा लिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।

विभागका एक अधिकारीले भने, “अन्य व्यक्तिहरूमाथिको अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणले उहाँको संलग्नताबारे थप अध्ययन आवश्यक देखिएकाले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।”

पार्टीको संगठन सुदृढीकरण तथा पुनर्गठन अभियानका क्रममा सुर्खेत पुगेका पौडेललाई स्थानीय शुभ होटलबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक प्रक्रिया पूरा गरिएको थियो। त्यसपछि उनलाई नेपालगञ्ज लगिएको छ र मंगलबार काठमाडौं ल्याएर विशेष अदालतबाट म्याद थप गर्ने तयारी गरिएको छ।

हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूको अनुसन्धान विभागले गर्ने र अभियोजन विशेष अदालतमा हुने कानुनी व्यवस्था छ।

लामो राजनीतिक यात्रा

विष्णु पौडेल नेपालको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन्। उनी आठ पटक मन्त्री र पाँच पटक सांसद भइसकेका छन्। पाँच पटक अर्थमन्त्री बनेर देशको आर्थिक नीति निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल तीन पटक उपप्रधानमन्त्रीसमेत भएका थिए।

२०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्रीबाट मन्त्री यात्रा सुरु गरेका पौडेलले जलस्रोत, रक्षा र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व रूपान्तरणको बहसमा सक्रिय थिए।

गत २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट पराजित भएपछि उनी संसदबाहिर रहेका थिए। यद्यपि पार्टीको शीर्ष नेतृत्वमा प्रभावशाली भूमिकामा रहँदै आएका पौडेल पछिल्ला महिनाहरूमा देशव्यापी संगठन सुदृढीकरण अभियानमा सक्रिय थिए।

अनुसन्धानले राजनीतिक वृत्तमा तरंग

एमालेका वरिष्ठ नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएसँगै राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। विभागले अनुसन्धान जारी रहेकाले यसबारे विस्तृत जानकारी सार्वजनिक गर्न नमिल्ने जनाएको छ।

पौडेलविरुद्धको अनुसन्धानले आगामी दिनमा नेपाली राजनीतिक क्षेत्र, आर्थिक नीति निर्माण र सुशासनसम्बन्धी बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ। अनुसन्धानबाट प्राप्त प्रमाण र अदालतको प्रक्रियापछि मात्रै आरोपहरूको यथार्थता स्थापित हुने कानुनी जानकारहरू बताउँछन्।