डालास । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। अस्ट्रियाविरुद्धको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्।

यसअघि जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान मेस्सीले अल्जेरियाविरुद्धको ह्याट्रिकसँगै बराबरी गरेका थिए। त्यसको अर्को खेलमै दुई गोल थप्दै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका हुन्।

डलास स्टेडियममा भएको खेलमा मेस्सीले सुरुवाती चरणमा पेनाल्टी अवसर गुमाए पनि ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा उनले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट यात्रा सुरु गरेका मेस्सी अहिले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। उनी लगातार ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी मात्र होइन, विश्वकपमा सर्वाधिक २८ खेल खेल्ने खेलाडी पनि बनेका छन्।

मेस्सीले विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने दुर्लभ कीर्तिमानसमेत बनाएका छन्। कतार विश्वकप २०२२ का अन्तिम चार खेल र विश्वकप २०२६ का सुरुवाती दुई खेलमा गोल गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन्।

उनको नाममा विश्वकपमा सर्वाधिक १८ जितको कीर्तिमान पनि रहेको छ। यसअघि जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरीमा रहेका मेस्सी अस्ट्रियाविरुद्धको जितपछि एक्लै शीर्ष स्थानमा पुगेका हुन्।

विश्वकपमा सर्वाधिक खेल, सर्वाधिक गोल, सर्वाधिक जित, सर्वाधिक ‘प्लेयर अफ द म्याच’ अवार्ड तथा दुई पटक गोल्डेन बल जित्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। उनले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर आफ्नो करियरलाई पूर्णता दिएका थिए।

विश्व फुटबलमा मेस्सीले बनाएका कीर्तिमानहरू यति धेरै छन् कि अब यस्तो लाग्न थालेको छ—मेस्सी कीर्तिमानको पछि दौडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै मेस्सीको प्रतीक्षामा बसेका छन्। विश्वकप २०२६ मा पनि उनी हरेक खेलसँगै नयाँ इतिहास लेखिरहेका छन्।