आफ्नो कला, संस्कृति र पहिचानलाई विश्वमाझ चिनाउने तथा नेपाली–नेपालीबीच एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने उद्देश्यसहित न्युजिल्यान्डमा यस वर्ष पनि नेपाल फेस्टिभल आयोजना गरिँदै छ । अकल्याण्ड र क्राइस्टचर्चमा हुने उक्त महोत्सवका लागि आयोजक संस्थाहरूले तयारी तीव्र पारेका छन् ।

अकल्याण्डमा अप्रिल ११ मा आयोजना हुने फेस्टिभलको संयोजन न्युजिल्यान्ड नेपाल सोसाइटीले गर्दैछ भने क्राइस्टचर्चमा अप्रिल १८ मा हुने कार्यक्रम एनआरएनए न्युजिल्यान्डले आयोजना गर्ने भएको छ ।

दुवै आयोजकले कार्यक्रम सफल बनाउन प्रचार–प्रसारलाई व्यापक बनाएका छन् । साथै कार्यक्रममा स्टल राख्न नेपाली तथा स्थानीय व्यवसायी, कलेज तथा कन्सल्टेन्सीहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ । महोत्सवमा नेपाली परिकारका स्टल, हस्तकला प्रदर्शनी, सांस्कृतिक झाँकी, लाइभ संगीत, नृत्य तथा फेसन शो आकर्षणका मुख्य केन्द्र रहनेछन् ।

अकल्याण्डमा हुने कार्यक्रममा न्युजिल्यान्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनसहित मन्त्रीहरू, सांसद तथा मेयरलाई निमन्त्रणा गर्ने योजना रहेको आयोजकले जनाएको छ । यस्तै, क्राइस्टचर्चमा हुने फेस्टिभलमा न्युजिल्यान्ड सरकारका उच्च पदस्थ व्यक्तित्वहरूसँगै अष्ट्रेलिया र न्युजिल्यान्डका लागि नेपाली राजदूत चित्रलेखा यादवको सहभागिता रहने बताइएको छ ।

सांगीतिक प्रस्तुतिका लागि नेपालका चर्चित लोकगायक पशुपति शर्मासहित स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।

न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका लागि नेपाल फेस्टिभल केवल सांस्कृतिक कार्यक्रम मात्र नभई साझा पहिचान, आपसी सद्भाव र सहकार्य सुदृढ गर्ने उत्सवका रूपमा लिइन्छ । दुई प्रमुख सहरमा आयोजना हुने यस वर्षको महोत्सवले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने विश्वास आयोजकहरूको छ ।