“लागे चैतका महिना उराठिला बन्,
सिमलको भुवा जस्तो उडिजाने मन”
लोकसाहित्य र लोकभाकामा सिमलको चर्चा बारम्बार हुने गरेको पाइन्छ । जनगायक जीवन शर्माको शब्द, संगीत र स्वरमा रहेको चर्चित गीत “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको।।।” ले पनि सिमलको सांस्कृतिक महत्व उजागर गरेको छ ।
शिशिर याममा उराठिलो देखिने वनजङ्गलका बीच सिमलले मनको उदासी चिर्दै आशा जगाउने प्रतीकका रूपमा स्थान बनाएको छ । साहुको भारी बोकेर थकित भरियालाई सिमली छायाँले शीतलता दिने प्रसङ्गदेखि सामाजिक बन्धन तोडेर सिमलको भुवाजस्तै उड्ने चाहनासम्म, सिमल चौताराको महत्व लोकगीत र साहित्यमा गहिरोसँग झल्किएको छ । सिमल खेत, सिमल गरा, सिमलटार, ठुटे सिमल र सिमलकुना जस्ता स्थाननामले पनि यसको सामाजिक उपस्थिति पुष्टि गर्छन् ।
बसन्त ऋतु नजिकिँदै जाँदा पहाडका थुम्कादेखि बेंसीका खोला–खोल्सासम्म राताम्य भएर ढकमक्क फुलेका अजङ्गका सिमलका रुखहरूले प्रकृतिलाई सिन्दुरे बनाइरहेका छन् । ठूला रुखमा फुल्ने गाढा राताम्य फूलले परिवेशलाई मनमोहक बनाउँछ । तराईका समथर भूभाग मात्र होइन, पहाडी गराहरू पनि सिमलको रङले रंगिएका देखिन्छन् । त्यसैले सिमललाई ‘तराईको गुराँस’ भनेर पनि चिनिन्छ ।
तर गाउँको पहिचान बनेका सिमलका रुखहरू पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएका छन् । रुखसँगै चराचुरुङ्गीका बासस्थान, तिनका चिरबिर आवाज र वन्य वातावरणसमेत सिमित हुँदै गएको देखिन्छ । काठ व्यवसायीको ध्यान सिमलतर्फ बढेसँगै कटानी–फडानी तीव्र बनेको छ । यही अवस्था कायम रहे भविष्यमा सिमल केवल गीत र साहित्यमा सीमित हुने खतरा बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
विशाल आकार, आकर्षक फूल, जडीबुटी गुण तथा चराचुरुङ्गीका लागि आश्रयस्थलका रूपमा सिमल अत्यन्त महत्वपूर्ण मानिन्छ । यद्यपि यसको प्रकार, गुण र सम्भावनाबारे पर्याप्त अध्ययन–अनुसन्धान भएको देखिँदैन । रातोबाहेक अन्य रङका सिमल पनि पाइन्छन्, तर ती दुर्लभ मानिन्छन् ।
सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री वा कटन ट्री भनिन्छ । यसको फूलको बाहिरी भाग गाढा खैरो–कालो रङको हुन्छ भने भित्री भागमा गाढा रातो रङका पाँच पुष्पपत्र हुन्छन् । हल्का पहेँलो रङ मिसिएको फूल फुल्ने सिमल पनि पाइन्छ, जसलाई औषधीय दृष्टिले अझ उपयोगी मानिन्छ ।
सिमलले बस्तीलाई सुन्दर बनाउनुका साथै विभिन्न चराचुरुङ्गीका लागि सुरक्षित आश्रय प्रदान गर्छ । दुर्लभ गिद्ध प्रजातिदेखि सुमधुर स्वरमा गाउने चरासम्म सिमलमा आश्रित रहने गरेका छन् ।
सिमलको भुवा, बीउ र फल मात्र होइन, पूरै रुख बहुउपयोगी छ । यसको दाना पशुचौपायाका लागि आहारका रूपमा प्रयोग हुन्छ भने मानिसले पनि तरकारीका रूपमा सेवन गर्छन् । सिमलको जराको पाउडर पिसाबसम्बन्धी समस्यामा उपयोगी हुने, काण्डको पाउडर दम र प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामा सहयोगी हुने तथा फूल र खोटो पेट दुखाइ र आउँमा प्रयोग हुने जनविश्वास छ ।
पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण सिमलको संरक्षण, उत्पादन, प्रवर्द्धन र बजारीकरणलाई व्यवस्थित गर्न सके वातावरण संरक्षणसँगै स्थानीय जीविकोपार्जनमा समेत टेवा पुग्ने देखिन्छ । त्यसैले सिमललाई केवल प्रकृतिको शोभा मात्र नभई सांस्कृतिक र आर्थिक सम्भावनाको स्रोतका रूपमा पनि हेर्न आवश्यक भएको सरोकारवालाहरू बताउँछन् ।
समाचार लेखक : विशाल सुनार
समाचार र फोटो गोरखापत्रबाट साभार
