वेलिङ्टन। द नेप्लिज सोसाइटी अफ वेलिङ्टनले ‘डोनट–चिया मिटअप भाग–२’ कार्यक्रम सम्पन्न गरेको छ। साथै, सोसाइटीले वेलिङ्टनमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय सहभागितामा समाजका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ।
सोसाइटीले जारी गरेको सूचना अनुसार छलफलमा न्युजिल्याण्डको रोजगार अवस्था तथा रोजगारीका अवसरबारे चर्चा गरिएको थियो। साथै, प्रभावकारी सीभी (CV) र कभर लेटर कसरी लेख्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो। कार्यस्थलको सुरक्षा तथा स्थानीय समुदायसँग कसरी जोडिने भन्ने विषयमा पनि सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो।
छलफल कार्यक्रममा बन्टी अग्रवाल, डा. शारदा पौडेल, डा. प्रेम खनाल र जिनिता शर्माले आफ्ना अनुभव साझा गरेका थिए भने अंकित अमिन ले प्रभावकारी सीभी तथा कभर लेटर लेखनसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप आर.ई. डेकोरेटर्स का सञ्चालक रविन धिमालले पाँच वटा प्रेज्जी कार्ड निःशुल्क राफल पुरस्कारका रूपमा प्रायोजन गरेका थिए। आयोजकले सबै विजेतालाई बधाई ज्ञापन गर्दै सहयोगकालागि रविन धिमाल प्रति विशेष आभार व्यक्त गरेको छ।
विद्यार्थीहरूलाई कार्यक्रमस्थलसम्म आवतजावतकालागि सवारी सुविधा उपलब्ध गराएकोमा समुदायका सदस्य डा. गोविन्द निरौला, दीपक गौतम, सबिन शर्मा र इनोस जोशीलाई पनि संस्थाले धन्यवाद दिएको छ।
त्यसैगरी, सोसाइटीले कार्यक्रम सफल बनाउन समय, अनुभव र ज्ञान साझा गर्ने सम्पूर्ण व्यक्तित्व तथा प्रशिक्षकप्रति हार्दिक आभार व्यक्त गरेको छ।
Photo: The Nepalese Society of Wellington



