सान फ्रान्सिस्को । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२५ जनवरीमा कार्यभार सम्हालेयता अमेरिकामा अध्यागमन नियन्त्रण र पक्राउको क्रम तीव्र बनेको छ। उत्तरी क्यालिफोर्नियामा मात्रै गत जुलाई महिनामा हालसम्मकै सबैभन्दा धेरै मानिस अध्यागमन नियन्त्रणमा परेका छन्।
‘यूसी बर्कले’ अन्तर्गतको ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार जुलाईमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले देशभर करिब ५० हजार मानिसलाई पक्राउ गरेको थियो।
जसमध्ये क्यालिफोर्नियामा मात्रै ४ हजार ३ सयभन्दा बढी मानिस पक्राउ परेका छन्। यससँगै क्यालिफोर्निया अमेरिकामा सबैभन्दा धेरै अध्यागमन पक्राउ हुने राज्यहरूको सूचीमा तेस्रो स्थानमा पुगेको छ। टेक्सस र फ्लोरिडामा भने पक्राउको संख्या अझै धेरै रहेको छ, जहाँ दुवै राज्यमा गरी करिब २० हजार मानिस अध्यागमन नियन्त्रणमा परेका छन्।
उत्तरी क्यालिफोर्निया हेर्ने आइसको सान फ्रान्सिस्को कार्यक्षेत्रमा जुलाई महिनामा मात्रै ८९० जना पक्राउ परेका छन्। यो संख्या फेब्रुअरीको तुलनामा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
बे एरियाका अध्यागमन कानुन व्यवसायीहरूका अनुसार पछिल्लो समय ठूलो संख्यामा सामूहिक छापा मार्नेभन्दा नियमित ‘चेक–इन’ भेटघाटका क्रममा मानिसलाई नियन्त्रणमा लिने क्रम बढेको छ। शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका तथा अस्थायी बसोबासको अनुमति पाएका मानिसहरूलाई अध्यागमन कार्यालयमा बोलाएर समेत हिरासतमा लिने गरिएको कानुन व्यवसायीहरूले बताएका छन्।
यस्तै, उत्तरी क्यालिफोर्नियाका विमानस्थलमा आन्तरिक उडानका लागि जाने क्रममा तथा ‘ग्रीन कार्ड’सम्बन्धी अन्तर्वार्तामा उपस्थित हुने क्रममा समेत मानिसहरूलाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिन थालेको जनाइएको छ।
कानुन व्यवसायीहरूले वैधानिक रूपमा बसोबास गरिरहेका वा वर्क पर्मिट भएका आप्रवासीलाई समेत आफ्नो अध्यागमन स्थिति तथा विगतको कानुनी पृष्ठभूमिबारे सचेत रहन आग्रह गरेका छन्। विशेषगरी कुनै आपराधिक मुद्दा वा कानुनी जटिलता भएका व्यक्तिले हवाई यात्रा वा अध्यागमन कार्यालयमा उपस्थित हुनुअघि कानुनी सल्लाह लिनुपर्ने उनीहरूको सुझाव छ।
विश्लेषकहरूका अनुसार क्यालिफोर्नियामा आप्रवासीको संख्या अमेरिकाका अधिकांश राज्यभन्दा बढी भए पनि टेक्सस र फ्लोरिडाको तुलनामा पक्राउको संख्या कम हुनुमा स्थानीय ‘स्यान्क्चुअरी’ कानुनको भूमिका रहेको छ। ती कानुनले स्थानीय प्रहरी तथा अन्य सरकारी निकायलाई संघीय अध्यागमन अधिकारीसँग व्यापक रूपमा सहकार्य गर्न सीमित गर्ने व्यवस्था गरेका छन्।
अध्यागमन नीति विश्लेषकहरूले जुलाई महिनामा देशभर भएका पक्राउका तथ्याङ्क सन् २००८ यताकै उच्च स्तरमा पुगेको बताएका छन्। अध्ययनअनुसार अध्यागमन नियन्त्रणमा परेका अधिकांश व्यक्ति गम्भीर आपराधिक गतिविधिमा संलग्न नभई वैधानिक अध्यागमन स्थिति वा आवश्यक कागजात नभएका आप्रवासी रहेका छन्।
अमेरिकामा अध्यागमन नीति थप कडाइ हुँदै जाँदा शरण खोजिरहेका, अस्थायी अनुमति भएका तथा अन्य अध्यागमन प्रक्रियामा रहेका आप्रवासी समुदायमा भने पछिल्लो पक्राउ अभियानले चिन्ता बढाएको छ।