जेनेभा। नेपाल तथा युरोपका विभिन्न देशमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल र युरोपबीच स्वास्थ्य क्षेत्रमा सहकार्य, अनुभव आदानप्रदान तथा समन्वय सुदृढ गर्ने विषयमा व्यापक छलफल गरेका छन्।

‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक अधिवेशनअन्तर्गत आयोजित तीनदिने सम्मेलनले युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र विशेषज्ञतालाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने विभिन्न योजना अघि सारेको छ।

साउन २२ देखि २४ गतेसम्म आयोजित सम्मेलनमा युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा विकसित नयाँ प्रविधि, बदलिँदो प्रवृत्ति, चुनौती तथा समाधानका उपायबारे छलफल गरेका थिए। सम्मेलनमा चारवटा क्लिनिकल, वैज्ञानिक तथा प्रविधिसम्बन्धी कार्यपत्र र नेपालसँग सम्बन्धित तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो।

शनिबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि स्विट्जरल्यान्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले संस्थाले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गरे। उनले नेपाल–युरोप स्वास्थ्य सहकार्यका उपलब्धिलाई संरक्षण, प्रवर्द्धन र निरन्तरता दिनुपर्नेमा जोड दिए।

डा. सुरज बहादुर थापालाई ‘हेल्थ प्रोफेसनल अफ द इयर’

सम्मेलनका क्रममा ‘नेपलिज हेल्थ प्रोफेसनल अफ द इयर २०२६’ अवार्ड प्राध्यापक डा. सुरज बहादुर थापालाई प्रदान गरिएको छ। राजदूत सुवेदी र ‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा उनलाई सम्मान हस्तान्तरण गरे।

युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नेपाली स्वास्थ्यकर्मीलाई नियमित रूपमा सम्मान गर्ने संस्थाको योजनाअनुसार यस वर्ष डा. थापालाई उक्त सम्मान प्रदान गरिएको हो। यसअघि पहिलोपटक गत वर्ष प्राध्यापक डा. गणेश आचार्यलाई यो अवार्ड प्रदान गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. थापाले नर्वेबाट मानसिक स्वास्थ्यमा एमडी गरेका छन्। सन् २००६ मा उनले नर्वेकै विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा पीएचडी पूरा गरेका थिए भने सन् २०१० मा मनोचिकित्साको विशेषज्ञता हासिल गरेका थिए। हाल उनी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलका प्राध्यापक तथा मानसिक स्वास्थ्य विभागका अनुसन्धान प्रमुखका रूपमा कार्यरत छन्।

सम्मान ग्रहण गर्दै डा. थापाले आफू प्रचारप्रसारमा विश्वास गर्ने व्यक्ति नभए पनि आफ्नो मेहनत र समर्पणको सम्मानका रूपमा प्राप्त यो अवार्डले खुसी बनाएको बताए।

स्वास्थ्यदेखि हिमालसम्मका विषयमा प्रस्तुति

सम्मेलनमा क्लिनिकल तथा वैज्ञानिक विषयमा डा. यु. मेइयर (स्विट्जरल्यान्ड), प्रोफेसर केनेथ वाकर (बेलायत), डा. सुनिल हमाल (जर्मनी), सरस्वती तामाङ (जर्मनी), प्राध्यापक डा. मोनिका ब्रोडमन (स्विट्जरल्यान्ड), कमल थापा (छाया नेपाल) तथा डा. बुद्धिमान श्रेष्ठ (नेपाल) ले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा सातै महादेशका सात सर्वोच्च हिमशिखर आरोहण गरेकी सुस्मिता मास्के निरौलाले आफ्नो हिमाल आरोहण अनुभवसमेत सहभागीहरूसँग साझा गरेकी थिइन्।

यस्तै, ‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठ र बेलायतस्थित नेपाली चिकित्सकहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन’की अध्यक्ष डा. आरती थापाबीच सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संगठित गर्दै नेपाली समुदायको स्वास्थ्यसम्बन्धी अनुसन्धान अघि बढाउने योजना रहेको बताए। साथै नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने उनले बताए।

उनका अनुसार सोसाइटीले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको व्यक्तिगत तथा पेसागत विकासका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्मेलनका विभिन्न सत्रमा डा. सजनी धाख्वा (जर्मनी), डा. राजु श्रीवास्तव (बेल्जियम), डा. विराट निरौला (स्विट्जरल्यान्ड), पञ्चम अधिकारी (बेल्जियम), हिरालाल श्रेष्ठ (स्विट्जरल्यान्ड), दामोदर नेपाल (नेपाल) र डा. सागर धितालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

सम्मेलनकै क्रममा प्राध्यापक डा. कौशल किशोर तिवारी (इटाली) को सम्पादनमा प्रकाशित मेडिकल जर्नलको पहिलो अंकसमेत विमोचन गरिएको थियो।