मस्कट। नेपाल र ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा ‘व्यापार तथा सम्बन्ध स्थापना’ कार्यक्रम आयोजना गरेको छ।
नेपालबाट निर्यात गर्न सकिने उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा केन्द्रित कार्यक्रममा नेपाललाई ओमानका लगानीकर्ता तथा व्यवसायीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो।
कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई नेपालले व्यापार तथा लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको बताउनुभयो। नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल ओमान भ्रमणमा आएकोमा उहाँले खुसी व्यक्त गर्दै नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया र संस्थागत व्यवस्थाबारे जानकारी गराउनुभयो।
उहाँले ओमानी लगानीकर्ताका लागि नेपाल किन सम्भावनायुक्त गन्तव्य बन्न सक्छ भन्ने विषयमा समेत प्रस्तुति दिनुभएको थियो।
प्रस्तुतिपछि कार्यवाहक राजदूत साहले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थीसहित हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनको सम्भावनाबारे जानकारी गराउनुभयो। उहाँले निर्यातमुखी अर्थतन्त्र निर्माण तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न महासङ्घले गरिरहेका प्रयासबारे समेत जानकारी दिनुभयो।
त्यसैगरी, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमानसहित खाडी मुलुकमा नेपाली हस्तकलाका उत्पादनको बजार विस्तारको सम्भावनाबारे प्रस्तुति दिनुभयो।
कार्यक्रममा विभिन्न नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो। प्रदर्शनीमार्फत ओमानी व्यवसायी तथा लगानीकर्तालाई नेपाली उत्पादनको गुणस्तर, मौलिकता र बजार सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइएको थियो।
राजदूतावासका अनुसार कार्यक्रममा नेपालबाट गएको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानस्थित विभिन्न व्यवसाय तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक तथा प्रतिनिधि, सञ्चारकर्मी र ओमानमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमले नेपाल–ओमानबीच व्यापारिक सम्बन्ध विस्तार गर्नुका साथै नेपाली उत्पादनको निर्यात प्रवर्द्धन र ओमानी लगानी नेपाल भित्र्याउन थप सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
