इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारबीच ७ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। तर, जिल्लामा जारी कर्फ्यु भने शुक्रबार पनि यथावत् राखिएको छ।

गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बिहीबार राति भएको वार्तामा मृतकका परिवार र सरकारबीच सहमति जुटेको हो। यद्यपि, कर्फ्यु कायम रहेकाले इटहरी, धरान र बराहक्षेत्र नगरपालिका बाहेक सुनसरीका अधिकांश स्थानीय तह तथा प्रमुख बजारमा जनजीवन प्रभावित बनेको छ।
स्थानीयवासीले आन्दोलन अन्त्य भइसकेको अवस्थामा पनि कर्फ्यु जारी रहँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। इनरुवाका स्थानीय दिलिप साहले सहमतिपछि अवस्था सामान्य बन्दै गएको भन्दै कर्फ्यु हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
पछिल्ला दुई दिनयता जिल्लामा आन्दोलन क्रमशः मत्थर हुँदै गएको छ। स्थानीयले जनजीवन सहज बनाउन कर्फ्यु हटाई अवस्था सामान्य बनाउन प्रशासनसँग माग गरेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शुक्रबार बेलुकासम्म कर्फ्यु यथावत् रहने जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेर जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाउने वा थप अवधि कायम राख्ने विषयमा निर्णय गरिनेछ।
सरकार र मृतकका परिवारबीच भएको ७ बुँदे सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे आवश्यक अनुसन्धान गर्ने, प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिपत्रअनुसार ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि साउन १५ गते दिउँसो २ बजे गर्ने पनि निर्णय गरिएको छ।
