मलङ्गवा। सर्लाही जिल्ला सुरक्षा समितिले भारतसँग जोडिएका सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ। जिल्लाको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बिहीबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको परिचय यकिन गरेपछि मात्र प्रवेश अनुमति दिइनेछ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा निगरानीसमेत थप कडा पारिएको उहाँले जानकारी दिनुभयो।
पूर्वी नेपालका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन्।
छलफलमा जिल्लाभित्र सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको थियो। साथै, कुनै पनि विवाद वा असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैसँग आग्रह गरिएको छ।
बैठकले धार्मिक जुलुस, र्याली, सभा वा अन्य सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णयसमेत गरेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै जिल्लामा सामाजिक सद्भाव, शान्ति र कानून व्यवस्था कायम राख्न सबै नागरिकसँग सहयोगको आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार शुक्रबार बिहानसम्म जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ। उहाँले सदरमुकाम मलङ्गवासहित केही स्थानमा शान्तिपूर्ण प्रदर्शन भए पनि सुरक्षा अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको जानकारी दिनुभयो।
