काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो तहको परीक्षा ११ वटा परीक्षा केन्द्रमा स्थगित गरेको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालयले सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने MKT 511: Marketing Management विषयको परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो। स्थगित परीक्षाको नयाँ मिति पछि सूचना प्रकाशित गरी जानकारी गराइने कार्यालयले जनाएको छ।

त्रिविले स्पष्ट पारेअनुसार उक्त विषयबाहेक अन्य सबै विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन्।

स्थगित भएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) तथा ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।

व्यवस्थापन संकायले सम्बन्धित विद्यार्थी तथा परीक्षा केन्द्रहरूलाई सूचनाको पालना गर्न र नयाँ परीक्षा तालिकासम्बन्धी जानकारीका लागि विश्वविद्यालयका आगामी सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।