काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनापछि विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकाय, राष्ट्रपति तथा विभिन्न राजनीतिक तहसँग संवाद र समन्वयलाई तीव्रता दिएका छन्।

बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा करिब १५ मिनेट भेटवार्ता गरी सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयास तथा पछिल्लो परिस्थितिबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री बनेपछि राष्ट्रपतिसँग भएको यो उनको औपचारिक भेटमध्ये महत्वपूर्ण भेटका रूपमा हेरिएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थितिलाई सामान्य बनाउन तथा सामाजिक सद्भाव कायम राख्न सरकारलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन संवाद गर्दै वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

यसअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाको विस्तृत जानकारी सुरक्षा निकायका प्रमुखहरूबाट लिएका थिए। बैठकमा देशको समग्र सुरक्षा अवस्था, सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले घटनाको सुरक्षा व्यवस्थापनसँगै राजनीतिक तथा सामाजिक संवादलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिएको जनाइएको छ। स्थानीय तहमा सरकारी उपस्थितिलाई प्रभावकारी बनाउन मन्त्री तथा सम्बन्धित अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पठाउनुपर्ने सुझाव पनि बैठकमा राखिएको थियो।

त्यसपछि सरकारले गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई सुनसरी पठाउने निर्णय गरेको थियो। दुवै मन्त्री घटनास्थल पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग छलफलमा जुटेका छन्।

यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी र मधेश प्रदेशका सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी सुनसरी घटनापछिको अवस्थाबारे छलफल गरेका थिए। उनीहरूले गृह प्रशासनको भूमिका, सुरक्षा व्यवस्थापन र राजनीतिक समन्वयका विषयमा आफ्ना धारणा राखेका थिए। लामिछानेले मधेश केन्द्रित दलका नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रतिनिधिसभा बैठकमा पनि सुनसरी घटनाबारे व्यापक छलफल भएको थियो। विपक्षी दलका सांसदहरूले सरकारले शान्ति सुरक्षा कायम गर्न थप प्रभावकारी पहल गर्नुपर्ने धारणा राखेका थिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि संवेदनशील परिस्थितिमा सरकार र राजनीतिक दलबीच थप संवाद आवश्यक रहेको बताएका थिए।

सुनसरी घटनापछि सरकारको भूमिका र सुरक्षा व्यवस्थापनबारे विभिन्न राजनीतिक दल तथा सार्वजनिक तहबाट धारणा आइरहेका बेला प्रधानमन्त्री शाहले सुरक्षा, राजनीतिक संवाद र संवैधानिक निकायसँगको समन्वयलाई प्राथमिकता दिँदै सक्रियता बढाएका छन्।