गुसाउ (नाइजेरिया)। उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा सशस्त्र बन्दुकधारी समूहले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार अधिकांश मृतक खेतमा काम गरिरहेका किसान हुन्।

तलाटा माफारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीका अनुसार स्थानीय समयअनुसार अपराह्न करिब ३ बजे बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २१ जनाको घटनास्थलमै ज्यान गएको थियो।

सौना जिल्लाका सचिव अल्हाजी सेहु गर्बाले पाँच वटा गाउँलाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गर्दै मृतकको संख्या २३ पुगेको जानकारी दिएका छन्। उनका अनुसार आक्रमणमा घाइते भएका तीन जनालाई प्रारम्भिक उपचारका लागि तलाटा माफारा जनरल अस्पताल लगिएको थियो। पछि उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि छिमेकी सोकोटो राज्यस्थित शिक्षण अस्पतालमा रेफर गरिएको छ।

घटनाबारे प्रतिक्रिया मागिए पनि नाइजेरियाली प्रहरीले तत्काल कुनै आधिकारिक जानकारी नदिएर समाचार सार्वजनिक भएको छ । उत्तरपश्चिम तथा मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय ‘डाकु’ नामले चिनिने सशस्त्र आपराधिक समूहहरूले गाउँमा आक्रमण गर्ने, गाईवस्तु लुट्ने, सर्वसाधारणलाई फिरौतीका लागि अपहरण गर्ने तथा सामूहिक हत्या गर्ने जस्ता हिंसात्मक गतिविधि निरन्तर सञ्चालन गर्दै आएका छन्। यिनै घटनाका कारण ती क्षेत्रमा सुरक्षा अवस्था वर्षौंदेखि चुनौतीपूर्ण बन्दै गएको छ।