तेहरान। अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजधानी तेहरानमा लाखौँ मानिसको सहभागिता देखिएको छ। शुक्रबारदेखि सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा शनिबार पनि विशाल जनसागर उर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्लामा राखिएको छ, जहाँ श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण, राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको छ। समारोहस्थलमा सुरक्षालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ।

इरानी अधिकारीहरूका अनुसार श्रद्धाञ्जली कार्यक्रम लगातार छ दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा करिब दुई करोड मानिसले श्रद्धाञ्जली अर्पण गर्ने अपेक्षा गरिएको दाबी गरिएको छ।

यसैबीच, खामेनीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि छिमेकी इराक पनि लगिने तयारी भएको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको शव बगदाद पुर्‍याइने कार्यक्रम तय गरिएको छ, जहाँ धार्मिक तथा राजनीतिक व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन्। खामेनीको निधनपछि इरानभर उच्च सतर्कता अपनाइएको छ भने देशभर शोकको वातावरण कायम रहेको छ।