भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो हाइड्रोजन इन्धनबाट सञ्चालन हुने रेल सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। स्वच्छ ऊर्जा र दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो रेल जिन्द–सोनिपत रेलमार्गमा सेवा दिनेछ।
उद्घाटन समारोहका क्रममा प्रधानमन्त्री मोदीले १२ हजार ४७० करोड भारतीय रुपैयाँभन्दा बढी लागतका विभिन्न राष्ट्रिय राजमार्ग आयोजनाको शिलान्यास गर्नुका साथै १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेसवे राष्ट्रलाई समर्पण गर्नुभयो। उक्त एक्सप्रेसवे सञ्चालनमा आएपछि दिल्लीदेखि कटरासम्मको यात्रा समय १४ घण्टाबाट घटेर करिब ६ घण्टामा सीमित हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विगत १२ वर्षमा भारतीय रेल सेवामा व्यापक आधुनिकीकरण भएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत भारतको यातायात प्रणालीलाई विश्वस्तरीय बनाउने अभियान जारी रहेको बताउनुभयो। उहाँले हरियाणाको जिन्द क्षेत्र विकास र सुशासनको उदाहरणका रूपमा स्थापित भएको पनि दाबी गर्नुभयो।
भारतीय रेल मन्त्रालयका अनुसार हाइड्रोजन रेलले जिन्द–सोनिपत खण्डको करिब ९० किलोमिटर दूरी तय गर्नेछ। करिब ३,२०० हार्सपावर क्षमतायुक्त यो रेल विश्वकै शक्तिशाली हाइड्रोजन रेलमध्ये एक मानिएको छ। यसको अधिकतम गति प्रतिघण्टा ११० किलोमिटर रहनेछ भने एक पटकमा करिब २,६०० यात्रु बोक्न सक्ने क्षमता रहेको छ।
रेलमन्त्री अश्विनी वैष्णवले यसलाई भारतीय रेल इतिहासको ऐतिहासिक उपलब्धि भएको बताउँदै हाइड्रोजन फ्युल सेल प्रविधिबाट सञ्चालन हुने यो रेल पूर्ण रूपमा वातावरणमैत्री रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यसमा डिजेल वा पेट्रोल प्रयोग नहुने भएकाले कार्बन उत्सर्जन शून्य रहनेछ। भारतीय रेलले आगामी दिनमा देशका अन्य रेलमार्गमा पनि हाइड्रोजन प्रविधिमा आधारित रेल सेवा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।
