अकल्याण्ड। न्युजिल्यान्डमा रहेका नेपाली संगीतप्रेमीहरूका लागि यस वर्षको बहुप्रतीक्षित सांगीतिक कार्यक्रमका रूपमा लोकप्रिय नेपाली गायक सुशान्त केसी आगामी ३० अगस्ट २०२६ मा अकल्याण्डमा लाइभ प्रस्तुति दिनुहुने भएको छ। बालबालिकादेखि युवा र सबै उमेर समूहका नेपालीमाझ लोकप्रिय गायक केसीको कन्सर्ट एनजेडआईसीसी (NZICC) स्थित ते पाए थिएटर (Te Pae Theatre) मा आयोजना हुनेछ।
गायक केसीलाई हाउस अफ म्युजिक इन्टरटेन्मेन्ट (HOME) र हाम्रो इभेन्ट्स (Hamro Events) को संयुक्त आयोजनामा न्युजिल्याण्ड ल्याउन लागिएको हो। करिब दुई हजार दर्शक क्षमता रहेको अत्याधुनिक सभाहलमा आयोजना हुने यस कन्सर्टले अकल्याण्डसहित न्युजिल्यान्डका विभिन्न सहरमा रहेका नेपाली समुदायलाई एउटै छानामुनि सांगीतिक उत्सवमा सहभागी गराउने आयोजकको अपेक्षा रहेको छ।
कार्यक्रमका मुख्य प्रायोजक एक्सेस एजुकेसन नेटवर्क रहेको छ। आयोजकले दर्शकको सहजताका लागि जनरल र भीआईपी गरी दुई प्रकारका टिकटको व्यवस्था गरेको जनाएको छ। साथै, टिकट खरिदकर्ताले आफ्टरपेमार्फत किस्ताबन्दी भुक्तानी सुविधासमेत उपयोग गर्न सक्नेछन्।
विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छुटको व्यवस्था गरिएको छ। वैध विद्यार्थी परिचयपत्र प्रस्तुत गर्ने विद्यार्थीले सहुलियत दरमा टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ।
त्यसैगरी, समूहमा सहभागी हुन चाहनेहरूका लागि १० वटा टिकट खरिद गर्दा एउटा टिकट निःशुल्क उपलब्ध गराउने विशेष योजना ल्याइएको छ। यसबाट साथीभाइ, परिवार तथा विभिन्न सामाजिक संघ–संस्थाका सदस्यहरूलाई सामूहिक रूपमा कार्यक्रममा सहभागी हुन सहज हुने विश्वास गरिएको छ।
कार्यक्रमको प्रचारप्रसार अकल्याण्डमा मात्र सीमित नराखी ह्यामिल्टन, टौरङ्गा, पामर्स्टन नर्थ, वेलिङ्टन र क्राइस्टचर्च लगायतका सहरमा पनि तीव्र रूपमा भइरहेको आयोजकमध्ये एक हाउस अफ म्युजिक इन्टरटेन्मेन्ट (HOME) का अनुप थापाले हिमालपारीलाई जानकारी दिनुभयो।
उहाँका अनुसार, “हामी यो कार्यक्रमलाई न्युजिल्यान्डभर रहेका नेपालीहरूको साझा सांगीतिक उत्सव बनाउन चाहन्छौं। त्यसैले देशका विभिन्न सहरमा पुगेर प्रचार–प्रसारलाई तीव्रता दिएका छौं, ताकि सबै संगीतप्रेमीले प्रत्यक्ष रूपमा सुशान्त केसीको प्रस्तुति हेर्ने अवसर पाऊन्।” थापाका अनुसार भौतिक टिकट टिकिटेकमार्फत उपलब्ध हुनेछ भने अनलाइन बुकिङ आयोजकका आधिकारिक माध्यमबाट गर्न सकिनेछ।
नेपालका युवा पुस्तामाझ अत्यन्त लोकप्रिय गायक सुशान्त केसी पछिल्लो दशकमा नेपाली पप संगीतका अग्रणी कलाकारका रूपमा स्थापित हुनुहुन्छ। उहाँका ‘बार्दली’, ‘सारंगी’, ‘साथी’, ‘मुस्कान’, ‘बेपत्ता’, ‘माया’, ‘आँखा’, ‘रंगी’ लगायतका चर्चित गीतले युट्युब तथा विभिन्न डिजिटल सङ्गीत मञ्चमा करोडौं पटक हेरिने र सुनिने सफलता हासिल गरेका छन्। आधुनिक संगीत, मौलिक शब्द र युवापुस्ताको भावना अभिव्यक्त गर्ने शैलीका कारण उहाँ नेपालसँगै विश्वभर रहेका नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय कलाकारका रूपमा परिचित हुनुहुन्छ।
आयोजकले न्युजिल्यान्डभर रहेका नेपाली समुदायलाई समयमै टिकट सुरक्षित गरी यस विशेष सांगीतिक साँझको हिस्सा बन्न आग्रह गरेको छ।
