अकल्याण्ड। न्युजिल्यान्डमा नेपाली अवैतनिक वाणिज्यदूत (अनेरेरी कन्सुल) को पद लामो समयदेखि रिक्त रहँदा यहाँका नेपाली समुदायले पाउँदै आएका कन्सुलर सेवामा प्रत्यक्ष असर पर्न थालेको छ। नयाँ अवैतनिक वाणिज्यदूत नियुक्त नहुँदा राहदानी नवीकरणदेखि आपत्कालीन कागजात व्यवस्थापनसम्मका सेवा अब अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासमार्फत मात्रै लिनुपर्ने अवस्था सिर्जना भएको छ।
यसअघि न्युजिल्यान्डमा दुई जना अवैतनिक वाणिज्यदूत कार्यरत थिए। टौरङ्गामा आत्म खनाल र अकल्याण्डमा दिनेश खड्काले लामो समयसम्म कुनै पारिश्रमिकबिना नेपाली समुदायको सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। आत्म खनालको कार्यकाल समाप्त भएपछि उहाँले सम्हाल्दै आएका अधिकांश जिम्मेवारी दिनेश खड्काले नै सम्हाल्दै आउनुभएको थियो।
तर, नेपालमा सरकार परिवर्तनपछि बनेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत मे महिनामा न्युजिल्यान्डसहित विभिन्न मुलुकका १५ जना अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यसयता न्युजिल्यान्डका लागि नयाँ अवैतनिक वाणिज्यदूत नियुक्त हुन नसक्दा स्थानीय नेपाली समुदायले प्रत्यक्ष रूपमा यसको असर भोग्न थालेका छन्।

अवैतनिक वाणिज्यदूतहरू नेपाली नागरिकलाई आवश्यक पर्ने कन्सुलर सेवाको सहजीकरण गर्ने, आपत्कालीन अवस्थामा सहयोग गर्ने तथा स्थानीय सरकारी निकायसँग समन्वय गर्ने प्रमुख सम्पर्क बिन्दुका रूपमा कार्य गर्दै आएका थिए। दुर्घटना, मृत्यु, कानुनी समस्या वा अन्य आपत्कालीन परिस्थितिमा उनीहरूले नेपाली नागरिकलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराउँदै आएका थिए। न्युजिल्यान्डका सरकारी निकायले समेत यस्ता विषयमा उनीहरूसँग नै सम्पर्क गर्ने गरेका थिए।
त्यस्तै, राहदानी (पासपोर्ट) नवीकरण, पावर अफ अटर्नी, कागजात प्रमाणीकरण, ट्राभल डकुमेन्ट, नागरिकतासम्बन्धी परामर्श लगायतका अधिकांश कन्सुलर सेवाका लागि आवश्यक कागजात तयार पार्ने र प्रक्रिया सहज बनाउने काम पनि स्थानीय रूपमा अवैतनिक वाणिज्यदूतमार्फत हुँदै आएको थियो।
हाल भने यस्तो व्यवस्था पूर्ण रूपमा बन्द भएको छ। अब यी सबै सेवाका लागि न्युजिल्यान्डमा रहेका नेपालीले क्यानबेरास्थित नेपाली दूतावाससँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने भएको छ।
यसै विषयमा पूर्व अवैतनिक वाणिज्यदूत दिनेश खड्काले सार्वजनिक सूचना जारी गर्दै न्युजिल्यान्डमा हाल कुनै पनि नेपाली अवैतनिक वाणिज्यदूत कार्यरत नरहेको जानकारी दिनुभएको छ। उहाँले राहदानी नवीकरण, पावर अफ अटर्नी, कागजात प्रमाणीकरण, नागरिकतासम्बन्धी परामर्श, ट्राभल डकुमेन्टलगायत सम्पूर्ण कन्सुलर सेवाका लागि सेवाग्राहीले सिधै क्यानबेरास्थित नेपाली दूतावाससँग सम्पर्क गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
नयाँ अवैतनिक वाणिज्यदूत नियुक्त नहुँदासम्म यही व्यवस्था कायम रहने जनाइएको छ। यसले विशेषगरी आपत्कालीन अवस्थामा तत्काल स्थानीय सहजीकरण नपाउने तथा कन्सुलर सेवा लिन सेवाग्राहीले थप समय र प्रक्रिया सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
