फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मेक्सिकोको ऐतिहासिक एज्टेका रंगशालामा भएको खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै दक्षिण अफ्रिकामाथि दबाब कायम राखेको थियो । विश्वकप इतिहासमा तीन फरक संस्करणको उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशालाको रूपमा एज्टेकाले नयाँ कीर्तिमानसमेत कायम गरेको छ ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । खेलको नवौं मिनेटमै क्विनोनेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दक्षिण अफ्रिकी रक्षकको कमजोरीको फाइदा उठाउँदै उनले इरिक लिराको पासलाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा थप अवसर सिर्जना गरेको मेक्सिकोले दोस्रो हाफमा पनि आफ्नो दबाब कायम राख्यो । खेलको ६७औं मिनेटमा अनुभवी फरवार्ड राउल जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेल दक्षिण अफ्रिकाका लागि झन् कठिन बन्यो जब ४९औं मिनेटमा सेफेलो सिथोले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाले खेलमा फर्कने अवसर पाउन सकेन। ८४औं मिनेटमा थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा झरेको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएपछि खेलमा कुल तीन खेलाडी मैदानबाट बाहिरिएका थिए ।

यस खेलमा मेक्सिकोका युवा प्रतिभा गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ इतिहास रचे । उनी विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी बन्न सफल भए भने मेक्सिको तथा उत्तर अमेरिकी फुटबल इतिहासमा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणतर्फको यात्रा बलियो बनाएको छ। पराजित दक्षिण अफ्रिकामाथि भने समूह चरणका बाँकी खेलमा दबाब बढेको छ । उता समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरिया आमनेसामने हुनेछन्। उक्त खेलले समूहको समीकरण थप रोचक बनाउने अपेक्षा गरिएको छ।