मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ को भव्य उद्घाटन समारोह मेक्सिकोको ऐतिहासिक एस्टेका रंगशालामा सम्पन्न भएको छ । लाखौं फुटबल समर्थकको प्रतिक्षाबीच सुरु भएको विश्वकपको उद्घाटन समारोह रंगीन सांस्कृतिक प्रस्तुति, संगीत र उत्साहले भरिपूर्ण बनेको थियो ।
उद्घाटन समारोहमा मेक्सिकोको समृद्ध संस्कृति, परम्परा, कला र इतिहासलाई आकर्षक ढंगले विश्वसामु प्रस्तुत गरिएको थियो। परम्परागत लोकनृत्य, आदिवासी समुदायका सांस्कृतिक झाँकी तथा आधुनिक प्रविधिको संयोजनले रंगशाला झन् आकर्षक बनेको थियो ।
समारोहमा विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति विशेष आकर्षणका रूपमा रहेको थियो । कोलम्बियाकी चर्चित गायिका शाकिरा, नाइजेरियाली स्टार बर्ना ब्वाय, ल्याटिन पप स्टार जे बाल्भिन, दक्षिण अफ्रिकी गायिका टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र माना लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
उद्घाटन समारोहपछि सहआयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपको पहिलो खेल सुरु भएको छ । खेल हेर्न रंगशालामा हजारौं दर्शक उपस्थित रहेका छन् भने विश्वभरका करोडौं फुटबल समर्थकको नजर उद्घाटन खेलमा केन्द्रित भएको छ ।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ। प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका छन्, जसले विश्व फुटबललाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
विश्वकपको उद्घाटनसँगै आगामी एक महिनासम्म विश्वभरका फुटबल प्रेमीहरू उत्साह र रोमाञ्चले भरिने भएका छन्। विश्व फुटबलको सर्वोच्च उपाधिका लागि हुने प्रतिस्पर्धामा कुन टोलीले इतिहास रच्ला भन्ने चासो अहिले विश्वभर बढेको छ ।
