काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको भूमि मिचेको दाबी गर्न खोज्ने सत्ता पक्षका केही सांसदहरूको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङदेम्बेले नेपालले कसैको भूमि मिचेको प्रमाण खोज्न दौडिने प्रवृत्ति राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरे। उनले नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भएको विषय विश्वसामु स्पष्ट रहेको भन्दै त्यसको समाधान कूटनीतिक संवाद र वार्तामार्फत खोजिनुपर्ने बताए।

आङदेम्बेले संसदले समेत यी भूभाग समेटिएको नेपालको नयाँ नक्सा पारित गरिसकेको स्मरण गराउँदै सीमा समस्यालाई उत्तेजना वा आवेगबाट होइन, संयमित र गम्भीर कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने धारणा राखे।

उनले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार र सत्तारुढ दल पर्याप्त गम्भीर नदेखिएको आरोप लगाउँदै सत्ता पक्षका केही सांसदहरूले नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्नु दुःखद भएको बताए। यस्ता गतिविधिले जनभावनाविपरीत सन्देश जाने उनको भनाइ थियो।

नेता आङदेम्बेले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा पक्ष–प्रतिपक्ष सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै सीमा विवाद समाधानका लागि कांग्रेस सदैव सरकारको साथमा रहने स्पष्ट पारे।

उनले वर्तमान संसदमा सरकारलाई प्रश्न गर्ने र जवाफदेही बनाउने संस्कार कमजोर बन्दै गएको गुनासोसमेत गर्दै लोकतान्त्रिक मूल्य र संसदीय मर्यादालाई सुदृढ बनाउन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए।