काठमाडौं । अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका अनुसार अध्ययन बिदाको दुरुपयोग गरेका १९१ प्राध्यापकमध्ये ४१ जनाले हालसम्म रकम फिर्ता गरिसकेका छन्। थप ६२ जनाले रकम फिर्ता गर्न निवेदन दिएका छन् भने अधिकांश प्रकरण छानबिनको क्रममा रहेका छन्।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने अभियानअन्तर्गत यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्न दिइने विशेष सुविधा भएकाले त्यसको दुरुपयोग स्वीकार्य नहुने स्पष्ट पारे।

त्रिविले गठन गरेको छानबिन समितिले अध्ययन बिदा लिएर सेवामा नफर्किएका तथा अध्ययन पूरा नगरेका गरी ३९८ प्राध्यापकको विवरण फेला पारेको छ। विश्वविद्यालयका अनुसार यसबाट संस्थालाई आर्थिक, शैक्षिक र नैतिक रूपमा ठूलो क्षति पुगेको छ।

त्रिविको प्रारम्भिक अध्ययनअनुसार अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयले दुई अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको अनुमान गरिएको छ। हाल सम्बन्धित प्राध्यापकहरूबाट रकम असुली तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको त्रिविले जनाएको छ।