दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उद्धार अभियान अझै जारी रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा ठगी तथा मानव तस्करीमार्फत पुगेका नेपालीहरूको पहिचान गरी उद्धार कार्य अघि बढाइएको छ ।

उनले थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगको पहल तथा सम्बन्धित निकायसँगको समन्वयमा यसअघि ६ सय १६ जनाको उद्धार गरिएको जानकारी दिए । पछिल्लो दुई सातामा मात्रै थप ७१ जना नेपालीलाई उद्धार गरेर स्वदेश फर्काइएको पनि उनले बताए ।

उद्धार गरिएकामध्ये कम्बोडियाबाट सबैभन्दा धेरै ५ सय ६२ जना रहेका छन् । त्यस्तै म्यानमारबाट १ सय ११, लाओसबाट ८ तथा थाइल्यान्डबाट ६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले अझै पनि ठूलो संख्यामा नेपालीहरू ती क्षेत्रमा फसेको हुन सक्ने आशंका व्यक्त गर्दै उद्धार तथा समन्वय कार्य निरन्तर जारी रहेको बताए । नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ जना नेपालीको जरिबाना मिनाहा गरिसकेको र थप १ सय ७२ जनाको जरिबाना मिनाहाका लागि पहल भइरहेको जानकारी पनि दिइएको छ ।

संगठित अपराध, मानव तस्करी तथा अन्य कसुरमा पक्राउ परेका नेपालीहरूको रिहाइका लागि समेत बैंककस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच म्यानमारमा थुनामा रहेका १८ जना नेपालीको कैद मिनाहाका लागि पनि पहल जारी रहेको तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।