काठमाडौंमा सञ्चालित ९५ वटा शैक्षिक परामर्श केन्द्रमा प्रहरीले एकैदिन छापा मार्दै ६९ जना सञ्चालकलाई पक्राउ गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिने आश्वासन दिएर ठगी गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार विशेष अभियान सञ्चालन गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती शैक्षिक परामर्श केन्द्रहरूले सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको पाइएको छ ।
कार्यालयका एसपी रामेश्वर कार्कीले अनुगमनका क्रममा विभिन्न अनियमितता फेला परेपछि कारबाही गरिएको जानकारी दिनुभयो । पक्राउ परेका सञ्चालकहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विदेश अध्ययनका नाममा ठगीमा परेका व्यक्ति वा पीडितहरूलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ । साथै शैक्षिक परामर्श सेवा लिनुअघि सम्बन्धित संस्थाको वैधानिकता र अनुमति बारे राम्रोसँग बुझ्न सर्वसाधारणलाई सचेत गराइएको छ ।
