न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद भवनमा ७३औँ सगरमाथा दिवस विशेष समारोह भव्य रूपमा सम्पन्न भएको छ । दि नेप्लिज सोसाइटी अफ वेलिङ्टनको आयोजनामा बिहीबार, मे २१ मा सम्पन्न कार्यक्रममा स्थानीय र नेपाली समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न जातीय तथा सांस्कृतिक पहिरनमार्फत नेपाली मौलिक संस्कृति झल्काएका थिए । सोसाइटीका अनुसार उपस्थितिको उत्साह, सांस्कृतिक विविधता र सामुदायिक एकताले समारोहलाई विशेष बनाएको थियो ।

समारोहमा अष्ट्रेलियास्थित नेपाली दूतावासका प्रतिनिधि रोशन महरा, न्युजिल्याण्डका लागि पूर्व अवैतनिक महावाणिज्यदूत दिनेश खड्का, एनआरएनए न्युजिल्याण्डका प्रतिनिधि, मिनिस्ट्री फर एथनिक कम्युनिटिज न्युजिल्याण्ड, हिमालयन ट्रष्टका अलेक्जेन्डर हिलारी, पार्लियामेन्टरी सर्भिसेज न्युजिल्याण्ड, सामुदायिक अभियन्ता, सल्लाहकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शेर्पा परिवार तथा दि शेर्पा सोसाइटी अफ न्युजिल्याण्डको सांस्कृतिक प्रस्तुति विशेष आकर्षण बनेको थियो । नृत्य निर्देशनका लागि सृष्टि सापकोटा, अतिथिको आवास व्यवस्थापनमा सहयोग गर्ने क्षितिज बिष्ट तथा कार्यक्रमका स्मरणीय क्षणहरू कैद गर्ने पवन अर्याललाई पनि आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी कार्यक्रम संसद भवनमा आयोजना गर्न सहयोग पुर्‍याउने सांसद क्यामरुन ब्रेवर तथा निरन्तर सहयोग प्रदान गर्ने पूर्व अवैतनिक महावाणिज्यदूत दिनेश खड्काप्रति आयोजकले विशेष कृतज्ञता व्यक्त गरेको छ । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज न्युजिल्याण्ड र ट्राभल कर्नर लिमिटेडप्रति सोसाइटीले आभार व्यक्त गरेको थियो ।
फोटो : सोसाइटीको फेसबुक पेजबाट