वैदेशिक रोजगारीका लागि दुबई जान लागेकी एक युवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी तथा मानव बेचबिखन गरेको आरोपमा स्याङ्जाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।
शिवबहादुर थापा लाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको हो । ब्युरोका अनुसार सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत चिनजान भएका थापाले पीडित युवतीलाई ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनले २०७८ वैशाख ११ गते युवतीलाई काठमाडौँबाट दुबई पुर्याएर करिब एक महिनासम्म होटलमा राखेको खुलेको छ ।
दुबईमा रहँदा भिसा प्रक्रियाका नाममा एजेन्टमार्फत पीडितको राहदानी, फोटो र ३५ हजार दिराम अर्थात करिब ८ लाख रुपैयाँ लिइएको थियो । त्यसपछि ती युवतीलाई बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया पुर्याइएको अनुसन्धानबाट खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोलम्बियामा एक वर्षसम्म बन्धक बनाइएकी युवतीमाथि शारीरिक तथा मानसिक यातना दिइनुका साथै जबरजस्ती करणीसमेत गरिएको थियो । नेपाल फर्काइदिन आग्रह गर्दा प्रतिवादी थापाले उल्टै थप रकम माग्दै धम्की दिएको आरोप पनि लगाइएको छ । ज्यान जोगाउन पीडित युवतीले अमेरिकामा रहेका साथीमार्फत बैंक खाता र वेस्टर्न युनियनमार्फत पटक–पटक गरी ९८ हजार ९०० अमेरिकी डलर अर्थात करिब १ करोड ४२ लाख रुपैयाँ बुझाएको बताइएको छ । ती बैंक खाताहरू थापाले नै उपलब्ध गराएको ब्युरोको भनाइ छ ।
रकम प्राप्त गरेपछि एजेन्टमार्फत युवतीलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिको सीमासम्म पुर्याइएको थियो । तर पुनः २० हजार डलर माग गरिएपछि रकम दिन नसक्दा एजेन्टहरूले उनलाई मेक्सिकोमै अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए ।
अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली दूतावासको समन्वयमा एकतर्फी यात्रा अनुमति पत्र बनाएपछि ती युवती २०८३ वैशाख २ गते नेपाल फर्किन सफल भएकी थिइन् ।
पीडितले नेपाल फर्किएपछि दिएको उजुरीका आधारमा ब्युरोले २०८३ वैशाख २८ गते थापालाई पक्राउ गरेको हो । मानव बेचबिखन, ओसारपसार, बन्धक बनाउने, जबरजस्ती करणी तथा करोडौँ रकम ठगीमा संलग्न रहेको आरोपमा थापामाथि अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी राजन लिम्बू ले जानकारी दिनुभयो ।
