विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार थप उग्र बनेको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, सडक अवरोध र कुटपिटका घटना भएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाली सेनासमेत परिचालन गरेको छ।
आइतबार दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये गोली लागेका ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनाको विरोधमा सोमबार बिहानदेखि ठूलो सङ्ख्यामा स्थानीय सडकमा उत्रिएका थिए। प्रदर्शन हिंसात्मक बन्दै जाँदा देवानगञ्जका विभिन्न स्थानमा घर, पसल र सवारीसाधनमा आगजनी गरिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार केही पसलबाट सामग्री बाहिर निकालेर आगो लगाइएको थियो भने बजार क्षेत्रका सवारीसाधनसमेत क्षतिग्रस्त भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–२ मा प्रदर्शनकारीले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल तथा घरअगाडि पार्किङ गरिएको ट्र्याक्टरमा आगजनी गरेका छन्। त्यस्तै, अबाफ अन्सारीको टिनले छाएको कच्ची घर, दुई वटा मोटरसाइकल र देवानगञ्ज–३ स्थित परालका दुई टालीमा समेत आगो लगाइएको छ।
प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहता माथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। बजारबाट घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको र गम्भीर घाइते अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरेको छ। सेनाको उपस्थितिपछि केही स्थानमा प्रदर्शनकारी तितरबितर भए पनि क्षेत्रमा अझै तनाव कायम रहेको जनाइएको छ।
यसैबीच, जिल्ला सदरमुकाम इनरुवामा पनि प्रदर्शन फैलिएको छ। प्रदर्शनकारीले बजार बन्द गराउँदै हिँड्ने क्रममा एक सर्वसाधारणमाथि कुटपिट गर्नुका साथै बजाज शोरुमका सिसा, होर्डिङ बोर्ड, प्रहरी बिट तथा केही सवारीसाधनमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध गरेपछि आवागमनसमेत प्रभावित भएको छ।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको र सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको जानकारी दिएका छन्।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। तर कर्फ्युका बाबजुद प्रदर्शनकारी सडकमा उत्रिएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र सामान्य अवस्था कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आवश्यक समन्वय गर्ने निर्णय गरेको छ। प्रशासनले जिल्लाका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त परिचालन जारी राखेको जनाएको छ।
