न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले क्राइस्टचर्चमा आयोजना हुन लागेको नेपाल फेस्टिभलका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आगामी शनिबार हुने उक्त फेस्टिभललाई केन्द्रमा राख्दै उहाँले भिडियो सन्देशमार्फत नेपाली समुदायको योगदानको प्रशंसा समेत गरेका छन् ।
प्रधानमन्त्री लक्सनले आफ्नो छोटो सन्देशमा क्राइस्टचर्च तथा समग्र न्युजिल्याण्डमा नेपाली समुदायको विशेष महत्व रहेको उल्लेख गरे । साथै बहुसांस्कृतिक समाजमा सबै कला र संस्कृतिलाई समान रूपमा मनाउने र एकअर्काबारे जानकारी लिने यस्ता कार्यक्रमले सामाजिक एकता बलियो बनाउने उल्लेख छ ।
भिडियोमा नेपाल फेस्टिभल सबैले मिलेर मनाइरहेको एक उत्सव हो र जसले विभिन्न समुदायबीच कला र संस्कृतिको आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ भनेका छन् । प्रधानमन्त्री लक्सनले नेपाल फेस्टिभल सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै सबैलाई कार्यक्रममा सहभागी भई उत्सव मनाउन आग्रह पनि गरेका छन् । क्राइस्टचर्चमा एनआरएनएको आयोजनामा नेपाल फेस्टिभल हुन लागेको छ । कार्यक्रममा सहभागी हुन हिमापारि मिडिया पनि आम समुदायलाई अपिल गर्दछ ।
